ओली सरकारले गर्यो भारतसँग सीमा जोडिएका क्षेत्रमा कडाई, अब सीमा कुकुर परिचालन गरिने

काठमाडौँ । प्रदेश २ का आठै जिल्लाका भारतसँग सीमा जोडिएका क्षेत्रमा एक महिनाभित्र विशेष तालिमप्राप्त कुकुर परिचालन गरिने भएको छ । प्रत्येक जिल्लामा दुईवटाका दरले १६ कुकुर परिचालन गरिने भएको हो ।

भारतसँगको सिमानामा सुरक्षा संवेदनशीलताका कारण तालिमप्राप्त कुकुर परिचालन गर्न लागिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी प्रमुख एआइजी विजयलाल कायस्थले सिमानामा परिचालन गरिने कुकुरलाई काठमाडौंमा तालिम दिइरहेको बताए । ती कुकुर सम्बन्धित जिल्ला प्रहरी कार्यालयमातहत रहनेछन् ।

आठवटै जिल्लामा कुकुर राख्ने खोर बनिरहेको प्रहरी प्रमुख कायस्थले बताए । उनले भने, ‘बढीमा एक महिनाभित्रै प्रत्येक जिल्लामा कुकुर राखिनेछ, दुई महिनादेखि ती कुकुरलाई काठमाडौंमा तालिम भइरहेको छ ।’

तालिम सकिन अझै एक महिना लाग्ने हुनाले त्यसपछि ती कुकुरलाई जिल्ला पठाइने उनले बताए । भारतसँग खुल्ला सिमानाका कारण सहज रूपमा लागुऔषध तथा बिफोस्टक पदार्थ भित्रिन सक्ने भएकाले नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गर्न लागिएको प्रहरी प्रमुख एआइजी कायस्थले बताए ।

अपराधीले पनि सहज रूपमा वारिपारि गर्न सक्ने हुनाले कुकुर परिचालन जरुरी भएको उनको भनाइ छ । ‘अन्य प्रदेशभन्दा प्रदेश २ को सुरक्षा संवेदनशिलता फरक हो,’ कायस्थले भने । यसअघि भिआइपीको आगमन तथा निर्वाचनको बेलामा मात्रै तालिम प्राप्त कुकुर परिचालन हुने गरेको थियो । सीमामा परिचालन गरिने जर्मन सेफर्ड जातका कुकुरका लागि काठमाडौंमा लागुऔषध र विस्फोट पदार्थ (फायर राउन्ड) सम्बन्धी तालिम भइरहेको छ । कुकुर खटाउने प्रहरी जवानलाई पनि तालिम दिइरहेको कायस्थले जानकारी दिए । एउटा कुकुरका लागि दुई प्रहरी जवानले तालिम लिइरहेका छन् ।

प्रदेशका विमानस्थलमा पनि कुकुर राखिने प्रदेश २ का तीन विमानस्थलमा पनि कुकुर खटाउने तयारी भइरहेको छ । जनकपुर, सिमरा र सप्तरी विमानस्थलमा विशेष तालिम प्राप्त कुकुर राख्ने तयारी छ ।

विमानस्थलको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन तालिम प्राप्त कुकुर राख्ने तयारी भएको प्रदेश प्रहरी प्रमुख एआइजी विजयलाल कायस्थले बताए । ‘पहिलो चरणमा एक महिनाभित्रै सिमावर्ती क्षेत्रमा कुकुर राखिनेछ,’ कायस्थले भने, ‘निकट भविष्यमा विमानस्थलमा पनि कुकुर राख्ने योजना छ ।’ नयाँ पत्रिकाले छापेको छ ।

प्रदेश २ को सुरक्षा यसकारण संवेदनशील प्रदेश २ का सबै जिल्लाको भारतसँग खुला सिमाना जोडिएको छ । खुला सिमानाकै कारण अपराधीलाई ओहोरदोहोर गर्न सहज छ ।

तराईका भूमिगत समूहहरूको अधारभूमि प्रदेश २ नै रहेकाले पनि सुरक्षा संवेदनशीलतामा ध्यान दिइएको प्रदेश प्रहरी प्रमुख विजयलाल कायस्थले बताए ।‘सामान्यतः जहाँ गरिबी बढी हुन्छ, त्यहाँ नै बढी अपराध हुन्छ, यो प्रदेशभित्र पनि गरिबको संख्या धेरै छ, चोरी, डकैतीलगायत अपराधका घटना बढी हुन्छन्,’ उनले भने । कुकुर परिचालनपछि आपराधिक घटनामा कमी आउने एआइजी कायस्थले बताए ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*