५ चैत, जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्ला पुगेर कर्णाली प्राविधिक शिक्षालयको निरीक्षण गर्दै कर्णाली क्षेत्रको विकास अवस्था र पूर्वाधारबारे स्थलगत जानकारी लिएकी छन्।
बिहीबार काठमाडौंबाट सुर्खेत, मुगु हुँदै रारा ताल पार गरेर जुम्ला पुगेकी प्रधानमन्त्रीले खलंगास्थित शिक्षालय, निर्माणाधीन १ मेगावाट सौर्य आयोजना र सदरमुकामको समग्र अवस्थाको अवलोकन गरिन्। भ्रमणमा प्रमुख जिल्ला अधिकारी दीपक पौडेल र नेपाली सेनाको समन्वय रहेको थियो।
२०३७ सालमा स्थापना भएको उक्त शिक्षालय कर्णालीका १० जिल्लाका युवाका लागि सीप विकासको मुख्य केन्द्र भए पनि लगानी अभाव र पुराना संरचनाका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।
प्रधानमन्त्रीको भ्रमणले कर्णाली विकासका मुद्दालाई राष्ट्रिय बहसमा ल्याउने अपेक्षा गरिएको छ। तर विगतका जस्तै यो भ्रमण पनि आश्वासनमै सीमित हुने हो कि भन्ने आशंका स्थानीयमा देखिएको छ।
प्रधानमन्त्री कार्की बिहीबार जुम्लामै बस्नेछिन् भने शुक्रबार चन्दननाथ भैरबनाथ मन्दिरको दर्शनपछि जनकपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

