११ वैशाख, गुल्मी । कृषि, पर्यटन र उद्योग क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यसहित गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पाँचौँ गुल्मी महोत्सव आजदेखि सुरु भएको छ । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालनमा आएको यो महोत्सव २३ वैशाखसम्म चल्नेछ । महोत्सवको उद्घाटन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गरेका हुन् । उद्घाटनसँगै तम्घास बजारमा आकर्षक शोभायात्रा समेत निकालिएको थियो ।
शोभायात्रामा विभिन्न संघसंस्था, क्लब, आमा समूह, विद्यार्थी र स्थानीय समुदायको उल्लेखनीय सहभागिता देखिएको थियो । सहभागीहरूले आ–आफ्नो भेषभूषा, कला र संस्कृतिको झल्को दिने प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पन्थीले महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताए । यस्ता कार्यक्रमले स्थानीय व्यवसायीलाई बजारको अवसर प्रदान गर्नुका साथै जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्ने उनको भनाइ थियो ।

महोत्सव मूल आयोजक समितिका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठका अनुसार यस वर्षको महोत्सव अघिल्ला संस्करणको तुलनामा अझ व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । उनका अनुसार महोत्सवमा करिब २५० वटा व्यापारिक स्टल रहनेछन्, जसमा घरेलु उत्पादन, कृषि सामग्री, हस्तकला तथा लघु उद्योगका वस्तुलाई प्राथमिकता दिइनेछ ।
उपाध्यक्ष ताराप्रसाद भुसालले स्टल व्यवसायीहरूलाई उपभोक्तामैत्री मूल्यमा सामग्री बिक्री गर्न आग्रह गरिएको जानकारी दिए । कम नाफामा बढी बिक्री गर्ने अवधारणाले उपभोक्ता र व्यवसायी दुवैलाई फाइदा पुग्ने विश्वास गरिएको उनले बताए ।
महोत्सवमा जलपरीसहित विभिन्न मनोरञ्जनात्मक पिङ, खेलकुद सामग्री तथा सबै उमेर समूहका लागि आकर्षक मनोरञ्जनका साधनहरू रहनेछन् । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
प्रचारप्रसार समिति संयोजक कृष्ण खनालका अनुसार यस वर्ष करिब एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ भने करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
तम्घासस्थित चिदीचौर निर्माणाधीन रहेकाले नुनथला क्षेत्रमा करिब आठ जनाको निजी जग्गा भाडामा लिएर महोत्सव सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

