काठमाडौं, असोज २२। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकहरूलाई कानुनअनुसार चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागले बिहीबार विज्ञप्ति जारी गर्दै श्रमिकले पाउनुपर्ने चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाताको ध्यानाकर्षण गराएको हो।
श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफूले मनाउने धर्म, संस्कृति तथा परम्पराअनुसारको चाडपर्वका लागि प्रत्येक वर्ष एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ।
कानुनी व्यवस्थाअनुसार श्रमिकले आफ्नो प्रमुख चाडपर्वको अवसरमा एक आर्थिक वर्षमा एकपटक उक्त रकम लिन रोजगारदातासमक्ष लिखित अनुरोध गर्न सक्नेछन्। यस्तो अनुरोध नगरेको अवस्थामा प्रत्येक वर्ष बडादसैँमा चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था छ। त्यस्तै, भुक्तानीको समयसम्म एक वर्ष सेवा अवधि पूरा नगरेका श्रमिकले आफूले काम गरेको अवधिको अनुपातमा चाडपर्व खर्च पाउनेछन्।
विभागका उपमहानिर्देशक विपिन राजभण्डारीद्वारा जारी विज्ञप्तिमा रोजगारदाता वा प्रतिष्ठानले कानुनबमोजिमको सुविधा उपलब्ध नगराएमा सम्बन्धित श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन सक्ने उल्लेख गरिएको छ।
विभागको निर्देशनले रोजगारदातालाई श्रम कानुनको पालना गर्न र श्रमिकको कानुनी अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ। चाडपर्व खर्च श्रमिकको कानुनी सुविधा भएकाले सम्बन्धित प्रतिष्ठानहरूले प्रचलित कानुनी व्यवस्थाअनुसार भुक्तानी गर्नुपर्नेछ।

