काठमाडौं। जेन–जी प्रतिनिधि रक्षा बमले जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीलाई खुला पत्र लेखेकी छन्।
खुला पत्रमार्फत उनले विगतको संकटपूर्ण अवस्थामा नेतृत्व सम्हाली शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै, पछिल्लो समय सडक र सामाजिक सञ्जालमा उठिरहेका प्रश्न तथा आरोपप्रति गम्भीर ध्यान दिन आग्रह गरेकी छन्।
रक्षा बमले आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नभएको कारण आफूले प्रधानमन्त्रीमाथि गरेको विश्वासको बदलामा अनेक लाञ्छना, आरोप र दुर्व्यवहार सहनुपरेको उल्लेख गरेकी छन्। उनले फेसबुकका इनबक्स र कमेन्टमार्फत निरन्तर यस्ता आक्षेप खेप्नुपरेको बताएकी छन्।
उनले अब आफूमाथि लागिरहेका आरोपको जवाफ सामान्य स्पष्टीकरणले मात्र नपुग्ने भन्दै सत्यतथ्य बाहिर ल्याउन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेकी छन्।
पत्रमा उनले लेखेकी छन्, “मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु। मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु। म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु।”
उनले जेन–जीको शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी बन्यो, गोली चलाउने आदेश कसले दियो र सिंहदरबारमा आगजनी कसको संलग्नतामा भयो भन्ने यथार्थ सार्वजनिक हुनुपर्ने बताएकी छन्।
रक्षा बमले न्यायको प्रतीक्षामा रहेका आँखाहरू प्रधानमन्त्रीतर्फ फर्किएको उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याउनु सरकारको जिम्मेवारी भएको बताएकी छन्। इतिहासले प्रधानमन्त्रीलाई कसरी सम्झिने भन्ने निर्णय अहिलेको कदमले तय गर्ने भएकाले भ्रम अन्त्य गर्न प्रतिवेदन सार्वजनिक गर्न उनले आग्रह गरेकी छन्।

