काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रामक तथा संवेदनशील सामग्री फैलाएको आरोपमा खाडीका तीन देशमा हालसम्म ७ जना नेपाली नागरिक पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ पर्नेमा यूएईमा ३, साउदी अरबमा ३ र कुवेतमा १ जना रहेका छन्।  

इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता कडा बनाइएका बेला आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका तस्बिर र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ। यसअघि नेपाली दूतावास र सरकारी निकायले यस्ता अपुष्ट, संवेदनशील वा भ्रामक सामग्री सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गर्दै आएका थिए।  

परराष्ट्र मन्त्रालयले पक्राउ परेकामाथि सम्बन्धित देशमा अनुसन्धान जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार दोषी ठहरिएमा कैद सजाय, जरिवाना र त्यसपछि देशनिकालासमेत हुन सक्ने कानुनी व्यवस्था छ। केही अन्तर्राष्ट्रिय र नेपाली समाचार स्रोतहरूले यूएईमा यस्ता कसुरमा कडा साइबर कानुन लागू हुने र ठूलो जरिवानासहित जेल सजाय हुन सक्ने उल्लेख गरेका छन्।  

सरकारले खाडी मुलुकमा रहेका नेपालीलाई स्थानीय प्रशासनको सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न, अपुष्ट सूचना नफैलाउन र आधिकारिक सूचनामात्र विश्वास गर्न पुनः आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय