५ चैत, काठमाडौं ।

“उपभोक्ताले २ देखि १५ वटासम्म ग्यास सिलिन्डर थुपारेका कारण बजारमा कृत्रिम अभाव भयो”— पछिल्लो समय नेपाल आयल निगम, ग्यास उद्योगी र विक्रेताले दोहोर्याउँदै आएको तर्क हो।

तर, सडकको यथार्थ भने यो दाबीभन्दा बिल्कुल फरक छ। सहरका चोक–चोकमा सर्वसाधारण नागरिक खाना पकाउने ग्यासको एक सिलिन्डरका लागि घण्टौं लाइनमा उभिन बाध्य छन्।

सबैभन्दा ठूलो मार तिनै उपभोक्तामाथि परेको छ, जसको घरमा एउटा मात्र सिलिन्डर छ— न स्टक गर्ने क्षमता, न विकल्प।

काठमाडौं उपत्यकाबाट सुरु भएको ग्यास अभाव अहिले देशव्यापी संकट बनेको छ। करिब साढे दुई महिनादेखि जारी यो समस्या समाधानतर्फ उन्मुख देखिएको छैन, बरु झन् जटिल बन्दै गएको छ।

यसैबीच, २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य कारबाहीपछि विश्व ऊर्जा बजारमा अस्थिरता थपिएको छ। मध्यपूर्वमा बढ्दो तनावले अन्तर्राष्ट्रिय आपूर्तिमा दबाब सिर्जना गरिरहेको छ।

तर, नेपालमा ग्यास संकट भने उक्त अन्तर्राष्ट्रिय तनावभन्दा अघिदेखि नै सुरु भइसकेको थियो। अहिले बाह्य परिस्थितिले यसमा थप असर पारे पनि मूल समस्या आन्तरिक व्यवस्थापनमै देखिन्छ।

नेपाल इन्धनका लागि पूर्ण रूपमा भारतमा निर्भर छ। भारत स्वयं आयातमा निर्भर हुँदा त्यहाँ देखिएको समस्या नेपालसम्म असर पार्ने डर स्वाभाविक छ। तर, अहिलेसम्म भारतले नेपालमा ग्यास आपूर्ति बन्द गरेको अवस्था छैन।

यस्तो अवस्थामा, आपूर्ति व्यवस्थापनमा कमजोरी गर्ने निकाय र उद्योगीहरू जिम्मेवारीबाट पन्छिँदै सम्पूर्ण दोष उपभोक्तामाथि थोपर्न खोज्नु कत्तिको न्यायसंगत हो भन्ने प्रश्न उठ्न थालेको छ।

👉 ग्यास अभावको वास्तविक कारण खोज्ने र समाधानतर्फ अग्रसर हुने समय अब आइसकेको छ— नत्र यसको भार सधैं सर्वसाधारणले नै बोकिरहनुपर्नेछ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय