पोखरा — कास्की प्रहरीले जिल्लाभर सञ्चालन गरेको व्यापक ‘स्वीप अपरेसन’ अन्तर्गत १२२ जनालाई नियन्त्रणमा लिएको छ। करिब १० घण्टा लामो उक्त अभियान गएराति ९ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन गरिएको कास्की प्रहरीले जनाएको छ।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेका अनुसार समाजमा शान्ति–सुरक्षा सुदृढ गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका युनिटबाट करिब १०० प्रहरी परिचालन गरी अपरेसन सञ्चालन गरिएको हो।

लागूऔषधको कारोबार तथा सेवन, टोलस्तरीय गुण्डागर्दी, मदिरा सेवनपछि सार्वजनिक स्थानमा हो–हल्ला गर्ने तथा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी यो अभियान चलाइएको उनले जानकारी दिए।

अपरेसनका क्रममा सबैभन्दा बढी पोखरा–६ लेकसाइड क्षेत्रबाट ३५ जना नियन्त्रणमा लिइएका छन्। त्यसपछि पोखरा–९ र १० (पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पतालचोक) क्षेत्रबाट २० जना तथा पोखरा–१४ र १५ (एयरपोर्ट, फुलवारी, खसिबजार, रामबजार) क्षेत्रबाट १५ जना पक्राउ परेका छन्।

त्यस्तै पोखरा–२९ र ३० क्षेत्रबाट १२ जना, पोखरा–१ देखि ५ सम्मका क्षेत्रबाट ९ जना, तथा पोखरा–११, १२ र १३ क्षेत्रबाट ८ जना नियन्त्रणमा लिइएका छन्। पोखरा–८ तथा पोखरा–२७ र २८ क्षेत्रबाट ६–६ जना, पोखरा–३२ बाट ३ जना र माछापुच्छ्रे गाउँपालिकाबाट पनि ३ जना पक्राउ परेका छन्।

यसैगरी पोखरा–१६ र १८ क्षेत्रबाट २–२ जना तथा अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाबाट १ जना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ। इन्स्पेक्टर पाण्डेले यस्ता अपरेसन आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताउँदै शान्ति–सुरक्षा कायम गर्न प्रहरी प्रतिबद्ध रहेको स्पष्ट पारे।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय