
१३ वैशाख, काठमाडौं । गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ (गोकर्ण संस्करण) को उपाधि तेन्जिङ छिरिङले उत्कृष्ट प्रदर्शनसहित जितेका छन्।
शून्य ह्यान्डिक्यापमा प्रतिस्पर्धा गरेका छिरिङले ३९ स्टेबलफोर्ड अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरे। उनले प्रतियोगिताभर बोगीरहित खेल प्रस्तुत गर्दै ८औँ, ११औँ र १३औँ होलमा बर्डी प्रहार गरेका थिए। उपाधिसँगै उनले मलेसियामा गल्फ यात्रा, गल्फ ब्याग तथा अन्य आकर्षक पुरस्कार प्राप्त गरेका छन्।
सन्योग शाही ३७ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता बने। सात ह्यान्डिक्यापमा खेलेका उनले अगाडिका नौ होलमा १६ र पछाडिका नौ होलमा २१ अंक जोडे।
ताशी छिरिङले ३९ ग्रस अंकसहित ‘बेस्ट ग्रस’ उपाधि जित्नुका साथै पाँच बर्डी प्रहार गर्दै ‘मोस्ट बर्डीज’ अवार्ड समेत हात पारे।
महिला तर्फ सुष्मा सिंह ३८ अंकसहित विजेता बनिन्। उनले पनि पुरुष विजेतासरह मलेसिया भ्रमणसहितका पुरस्कार प्राप्त गरिन्। तारा कार्की चित्रकार ३३ अंकसहित उपविजेता रहिन्।
६० वर्ष वा सोभन्दा माथिका सिनियर तर्फ बाबु शेर्पा ३६ अंकसहित विजेता बने। उनले अगाडिका नौ होलमा १५ र पछाडिका नौ होलमा २१ अंक जोडे। शंकर मान रोक्काले ‘क्लोजेस्ट टु द पिन’ तथा डार्टानियन गिएर्केले ‘लङ्गेस्ट ड्राइभ’ अवार्ड जिते।
गोरखा ब्रुअरीको प्रायोजनमा आयोजित प्रतियोगितामा १११ खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता ¾ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड ढाँचामा सञ्चालन गरिएको थियो।
विजेताहरूलाई गोरखा ब्रुअरीका वित्त निर्देशक अमर वैद्य, सेल्स निर्देशक काजिमान सुब्बा, मार्केटिङ निर्देशक रोजन् अमात्य, कानुनी तथा कम्प्लायन्स निर्देशक प्रतिमा बर्मा, पिपल एण्ड कल्चर निर्देशक दिनेश मान श्रेष्ठ, ब्रान्ड म्यानेजर ईशा पौडेल तथा गोकर्ण गल्फ क्लबका अध्यक्ष सुध्रिढ घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए।

