१३ वैशाख, भोजपुर । निरन्तर परेको भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडकमा यातायात सेवा ठप्प बनेको हो। तीव्र बहावका कारण पुल बगाएको स्थानीयवासीले बताएका छन्।
सडक अवरुद्ध भएपछि मध्यपहाडी लोकमार्गसँग जोडिने यो महत्वपूर्ण मार्गबाट हुने दैनिक आवतजावत प्रभावित भएको छ। स्थानीय उत्पादन बजारसम्म पुर्याउन समस्या भएको छ भने बिरामी ओसारपसार, विद्यालय आवागमन तथा दैनिक उपभोग्य सामग्री ढुवानीसमेत प्रभावित भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए।
उनका अनुसार वैकल्पिक मार्ग प्रयोग गरी अस्थायी रूपमा आवागमन सुचारु गर्ने प्रयास भइरहेको छ।
यता, सडक डिभिजन कार्यालय तुम्लिङटारले प्राविधिक टोली परिचालन गरिएको जनाएको छ। टोलीले घटनास्थलमा पुगेर क्षतिको मूल्यांकन गरिरहेको छ। साथै अस्थायी सडक सञ्चालन तथा वैकल्पिक मार्ग निर्माणका लागि आवश्यक प्राविधिक विकल्पमा छलफल भइरहेको छ। डोजर तथा अन्य उपकरण प्रयोग गरी मर्मत तथा पुनःस्थापनाको कार्य अघि बढाइने जनाइएको छ।

