काठमाडौं — नेपाली हिपहप संगीतलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित व्यावसायिक हिपहप (र्याप) रियालिटी शो ‘द र्यापर : लेट द भर्स स्पिक’ सिजन १ घोषणा गरिएको छ। आयोजकका अनुसार यो नेपालकै पहिलो व्यावसायिक हिपहप रियालिटी शो हो।
एनएक्सजी इन्टरटेनमेन्टको आयोजनामा तयार गरिएको उक्त शोको निर्देशन युवराज साउदले गरेका छन्। कार्यक्रम हिमालयन टेलिभिजनमार्फत प्रसारण हुनेछ र जेठ दोस्रो सातादेखि नियमित रूपमा प्रसारण हुने जनाइएको छ।

शोका लागि डिजिटल अडिसनमार्फत देशभरबाट ६४ उत्कृष्ट प्रतिस्पर्धी छनोट भएका छन्। उनीहरूले आफ्ना र्याप, लिरिक्स, संगीत, कम्पोजिसन र प्रस्तुति क्षमतालाई विभिन्न चरणमा प्रदर्शन गर्नेछन्।
कार्यक्रममा गिरीश खतिवडा मुख्य निर्णायक (जज) का रूपमा रहनेछन्। उनले प्रतिस्पर्धीको शब्द, प्रस्तुति, संगीत तथा प्राविधिक पक्षका आधारमा मूल्याङ्कन गर्नेछन्।
प्रतिस्पर्धीलाई मार्गदर्शन गर्न ‘स्क्वाड लिडर’का रूपमा विवश जमरकट्टेल (विवश जेके), विवेक घोरासैनी (बीजी बिर्गोर्खाली), संकेत श्रेष्ठ (ओएमजी स्पार्क) र जगत पुन (रेक्स) रहनेछन्।
प्रतिस्पर्धा टप १६, टप १० हुँदै टप ४ सम्म पुग्नेछ। प्रारम्भिक चरणमा निर्णायक र दर्शकको ५०/५० मतका आधारमा मूल्याङ्कन हुनेछ भने अन्तिम चरणमा पूर्ण रूपमा दर्शकको मत निर्णायक हुनेछ।
विजेताले १५ लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने फाइनलिस्टहरूलाई अन्तर्राष्ट्रिय टूरको अवसर समेत प्रदान गरिनेछ। शोका लागि वैशाख १३ गतेसम्म डिजिटल अडिसन खुला गरिएको थियो, जसमा ७ हजारभन्दा बढी आवेदन प्राप्त भएको आयोजकले जनाएको छ।

