काठमाडौं — काठमाडौं–भक्तपुर सीमाक्षेत्रमा पर्ने मनोहरा खोला किनारस्थित सुकुमवासी बस्ती हटाउने अभियान अन्ततः सम्पन्न भएको छ। सुरक्षाकर्मीको व्यापक परिचालनमा सञ्चालन गरिएको उक्त अभियानअन्तर्गत कुल ९४१ घरटहरा पूर्ण रूपमा भत्काइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंतर्फ १३१ र भक्तपुरतर्फ ८१० संरचना हटाइएका छन्। उक्त क्षेत्रमा काठमाडौंतर्फ १३१ र भक्तपुरतर्फ ८०६ गरी कुल ९३७ परिवार बसोबास गर्दै आएका थिए। बस्ती हटाउने कार्यमा दुई दर्जनभन्दा बढी जेसीबी प्रयोग गरिएको थियो, जस क्रममा एक सामुदायिक विद्यालयसहित सम्पूर्ण संरचना ध्वस्त पारिएको हो।
अभियानअघि शनिबार साँझ संरचना हटाउने प्रयासका क्रममा स्थानीय सुकुमवासी र सुरक्षाकर्मीबीच तनाव चर्किँदै झडप भएको थियो। ढुङ्गामुढाका घटनामा प्रहरी वृत्त थिमीका प्रमुख डीएसपी नवराज ढुङ्गानासहित २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।
आइतबार बिहान करिब दुई हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएपछि अधिकांश बासिन्दाले स्वेच्छिक रूपमा बस्ती खाली गरेका थिए। त्यसपछिका आइतबार र सोमबार भने प्रशासनले बस्ती हटाउने कार्य शान्तिपूर्ण रूपमा सम्पन्न गरेको जनाएको छ।
सरकारले नदी किनार अतिक्रमण नियन्त्रण र जोखिम न्यूनीकरणका लागि अभियान सञ्चालन गरेको जनाउँदै यस्ता कार्य आगामी दिनमा पनि निरन्तर रहने संकेत दिएको छ।

