काठमाडौं — विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण मार्ग निर्माणमा देखिएको जटिल अवरोध अन्ततः हटेको छ। खुम्बु आइसफल क्षेत्रमा जमेको विशाल हिमढिस्कोका कारण करिब तीन सातादेखि रोकिएको मार्ग निर्माण कार्य पुनः सुरु भएसँगै वसन्तकालीन आरोहण तयारीले गति लिएको छ।

 

यस वर्ष सगरमाथा आरोहणका लागि नियमित रुट तयार पार्न खटिएका अनुभवी ‘आइसफल डाक्टर’हरूको टोली अप्रिलको पहिलो सातामै आधार शिविर पुगेको थियो। उनीहरूको मुख्य जिम्मेवारी आधार शिविरदेखि उच्च शिविरसम्म सुरक्षित मार्ग निर्माण गर्दै डोरी र भर्‍याङ जडान गर्नु हो। तर, आधार शिविर र क्याम्प–१ बीच पर्ने जोखिमपूर्ण खुम्बु आइसफल क्षेत्रमा ठूला बरफका ढिस्का (सर्‍याक) झरेपछि टोली अघि बढ्न सकेन।

उक्त अवरोध हटाउन मानवीय प्रयास असम्भवजस्तै देखिएपछि टोलीले प्राकृतिक रूपमा बरफ पग्लिने प्रतीक्षा गर्नुपरेको थियो। यस क्रममा करिब तीन सातासम्म मार्ग निर्माण पूर्ण रूपमा प्रभावित रह्यो, जसले सगरमाथा आरोहणको समग्र तयारीमा अनिश्चितता थपेको थियो।

पर्वतारोहण सञ्चालक संघका महासचिव ऋषिराम भण्डारीका अनुसार हाल खुम्बु आइसफल क्षेत्रमा रहेको अवरोध हटिसकेको छ र आइसफल डाक्टरहरूको टोली क्याम्प–१ बाट क्याम्प–२ तर्फ अघि बढिसकेको छ। “लामो समयदेखि रोकिएको काम पुनः सुरु हुनु सकारात्मक संकेत हो,” उनले भने, “अब निर्धारित समयमै रुट निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ।”

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुरगेल्जे शेर्पाले क्याम्प–१ पुग्नुअघि नै बरफका विशाल ढिक्काले मार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको जानकारी दिए। खुम्बु आइसफल क्षेत्र सगरमाथा आरोहणको सबैभन्दा जोखिमपूर्ण खण्डमध्ये एक मानिन्छ, जहाँ सधैं सर्‍याक झर्ने र बरफको संरचना परिवर्तन हुने खतरा रहन्छ।

सरकारले सगरमाथा आरोहण मार्ग निर्माणको जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र पर्वतारोहण सञ्चालक संघलाई प्रदान गर्दै आएको छ। सामान्यतया आधार शिविरदेखि क्याम्प–२ सम्मको रुट निर्माण एसपीसीसीले गर्ने भए पनि यस वर्ष उत्पन्न असामान्य अवस्थालाई ध्यानमा राख्दै सरकारले पर्वतारोहण सञ्चालक संघलाई समेत खुम्बु आइसफल क्षेत्रमा प्रत्यक्ष रूपमा खटिन अनुमति दिएको थियो।

पर्यटन विभागका अनुसार वैशाख ११ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको आरोहण मार्गमा पर्ने खुम्बु आइसफल क्षेत्रमा सुरक्षित बाटो निर्माण तथा डोरी टाँग्ने कार्य शीघ्र सम्पन्न गर्न संयुक्त टोली परिचालन गरिएको हो।

वसन्तकालीन आरोहण सिजन सामान्यतया जेठको पहिलो सातादेखि सुरु भई दोस्रो सातासम्म चल्ने गर्दछ। त्यसअघि नै उच्च उचाइमा अनुकूलन (एक्लाइमेटाइजेशन) गर्न तथा अन्तिम तयारीका लागि सयौँ विदेशी आरोही, नेपाली शेर्पा र सहयोगी कर्मचारीहरू सगरमाथा आधार शिविरमा पुगिसकेका छन्।

पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार यस वर्ष सगरमाथा आरोहणका लागि मात्र ४२ समूहका ४२५ आरोहीले अनुमति लिएका छन्, जसमा ९७ महिला रहेका छन्। त्यस्तै, नुप्त्से हिमालका लागि ४ समूहका ४२ आरोही र ल्होत्से हिमालका लागि ९ समूहका १११ आरोहीलाई अनुमति दिइएको छ। यी सबै हिमालको आधार शिविर भने सगरमाथा नै भएकाले त्यहाँ उल्लेख्य चहलपहल देखिएको छ।

यसैबीच, पर्वतारोहण गतिविधिको प्रभावकारी अनुगमन तथा व्यवस्थापनका लागि पर्यटन विभागले सगरमाथा आधार शिविरमै फिल्ड कार्यालय स्थापना गरेको छ। विभागले यस वर्ष सगरमाथासहित २९ हिमालमा हालसम्म ९ सय ९६ आरोहीलाई अनुमति प्रदान गरिसकेको छ। साथै, आरोहण नियमन, सहजीकरण र सुरक्षा व्यवस्थापनका लागि ६० जना सम्पर्क अधिकृत खटाइएको छ।

खुम्बु आइसफलको अवरोध हटेसँगै सगरमाथा आरोहणको तयारीले पुनः गति लिएको छ। अब आगामी केही साताभित्र मार्ग निर्माण सम्पन्न भई निर्धारित समयमै आरोहण सुरु हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय