मुम्बई — दक्षिण भारतीय सुपरस्टार यश अभिनित बहुप्रतिक्षित फिल्म ‘टक्सिक : अ फेरी टेल फर ग्रोन-अप्स’ को प्रदर्शन मिति पुनः सारिएको छ। सह–निर्माता समेत रहेका यशले बुधबार सामाजिक सञ्जालमार्फत फिल्म ४ जुनमा रिलिज नहुने जानकारी दिएका हुन्।

निर्माण टिमका अनुसार फिल्मको सम्पूर्ण छायांकन तथा पोस्ट–प्रोडक्सन काम पूरा भइसकेको भए पनि विश्वव्यापी रूपमा भव्य रिलिज सुनिश्चित गर्न समय आवश्यक भएकाले मिति पुनः सारिएको हो। तर, नयाँ प्रदर्शन मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन, जसले दर्शकमा थप अन्योल सिर्जना गरेको छ।

गीतु मोहनदासको निर्देशनमा बनेको ‘टक्सिक’ यसअघि २०२६ मार्च १९ मा रिलिज हुने तय थियो। त्यसपछि बक्सअफिस प्रतिस्पर्धा र बजार रणनीतिका कारण जुन ४ मा सारिएको थियो। तर अब पुनः स्थगित भएपछि फिल्मको रिलिज समय अनिश्चित बनेको छ।

करिब ७०० देखि ८०० करोड भारुको विशाल बजेटमा निर्माण गरिएको यो फिल्मलाई भारतीय सिनेमाको अहिलेसम्मकै सबैभन्दा महँगो परियोजनामध्ये एक मानिएको छ। पिरियड ग्याङ्स्टर कथामा आधारित यस फिल्ममा यश दोहोरो भूमिकामा देखिनेछन्।

फिल्ममा कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसंत लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक वक्तव्यमा यशले लेखेका छन्, “केही फिल्म हामी बनाउँछौं, तर केही फिल्मले हामीलाई किन सिनेमा रोज्यौं भन्ने कुरा फेरि सम्झाइदिन्छन्। ‘टक्सिक’ त्यस्तै अनुभव हो।”

यसअघि पनि फिल्मको रिलिज मिति विभिन्न कारणले सारिँदै आएको थियो। पहिलो पटक १९ मार्चमा तय गरिएको रिलिज ईरान–इजरायल तनाव र खाडी बजारको परिस्थितिलाई ध्यानमा राख्दै स्थगित गरिएको थियो।

तर यसपटक कुनै स्पष्ट कारण नदिइएको स्थगनले फिल्मको नयाँ रिलिज मितिबारे अनिश्चितता बढाएको छ, जसले यशका प्रशंसकलाई निराश बनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय