कावासोती, वैशाख १६ गते । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी नवलपरासीको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको कार्य अन्तिम चरणमा गएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार यहाँ दुई सय मिटर मात्र सडक ढलानको काम बाँकी रहेको छ । ढलान पूरा भएपछि एकातर्फी ढलानले सडक जोडिने छ । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत दाउन्नेको लम्बाइ ३.९ किलोमिटर छ, जसमध्ये दुई सय मिटरको सडक ढलानको काम सकिएमा एकातर्फी ढलानको कार्य पूरा हुनेछ । एकातर्फी ढलानको काम पूरा भएपछि यात्रा गर्न सहज हुने भनाइ खनालको छ ।
दाउन्नेको पूर्वी भागमा ३३ मिटर लम्बाइको ढलानयुक्त बाटोबाट सवारी चालू गरिएको छ। तर, करिब चार सय मिटरको ढलान सकिएको क्षेत्रमा हाल सवारी सञ्चालन भइरहेको छैन। बर्खाको पूर्व तयारीको क्रममा दाउन्नेको पूर्व खण्डमा ढलानयुक्त सडकले यात्रा सजिलो बनाउनका लागि काम भइरहेको खनालले जानकारी दिनुभयो। खनालका अनुसार ६५ किलोमिटर पूर्वी खण्डको सडकमध्ये अहिले लगभग सात मिटरको कच्ची सडकमा यात्रा गर्नुपर्ने अवस्था बनिरएको छ।

