नेपालगञ्ज, १६ वैशाख — बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार, हातपातको प्रयास तथा ज्यान मार्ने धम्कीको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। सुरक्षाको सुनिश्चितता र दोषीमाथि तत्काल कारबाहीको माग गर्दै उनीहरूले आकस्मिक (इमरजेन्सी) सेवा बाहेकका सबै सेवा बन्द गरेका छन्, जसका कारण ओपीडी लगायतका नियमित स्वास्थ्य सेवा पूर्ण रूपमा प्रभावित भएका छन् र सयौं बिरामी उपचारविहीन बनेका छन्।

१३ वैशाखमा बैजनाथ गाउँपालिका–६ निवासी ६२ वर्षीया दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले अस्पताल प्रशासन र चिकित्सकमाथि आक्रोश व्यक्त गरेका थिए। चिकित्सकहरूका अनुसार मृतकका आफन्त भनिएको २०–२५ जनाको समूह अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीको कार्यकक्षमै प्रवेश गरी गालीगलौज, दुर्व्यवहार र हातपातको प्रयास गर्नुका साथै चिकित्सकहरूमाथि ज्यान मार्ने धम्कीसमेत दिएका थिए। उक्त घटनापछि अस्पतालभित्र असुरक्षा र त्रासको वातावरण सिर्जना भएको चिकित्सकहरूको भनाइ छ।

नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रुपानन्द अधिकारीले विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। माग पूरा नभए देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा समेत इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनीसमेत दिइएको छ।

अस्पताल प्रशासनले बिरामीको मृत्युलाई दुःखद भन्दै उपचार प्रक्रियामा कुनै लापरवाही नभएको स्पष्ट पारेको छ। प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीका अनुसार उपचारप्रति असन्तुष्टि भए कानुनी माध्यमबाट समाधान खोज्न सकिने अवस्था हुँदाहुँदै चिकित्सकमाथि आक्रमण र धम्की दिनु गम्भीर र निन्दनीय कार्य हो। ‘यस्ता घटनाले चिकित्सकहरूको मनोबलमा गम्भीर असर पारेको छ र काम गर्ने वातावरण असुरक्षित बनेको छ,’ उनले बताए।

प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले पनि उपचारमा कुनै त्रुटि नभएको दाबी गर्दै यदि चिकित्सकको लापरवाही प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्।

यसअघि प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारको सहजीकरणमा चिकित्सक र मृतकका आफन्तबीच छलफल भई कानुनी प्रक्रियाबाट समस्या समाधान गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार मृतकको पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको थियो। तर सहमति भइसकेपछि पनि मंगलबार पुनः समूह अस्पताल पुगेर दुर्व्यवहार र हातपातको प्रयास गरेपछि स्थिति झनै तनावग्रस्त बनेको हो।

मृतक दिलसरा विकलाई माथिल्लो पेट दुख्ने समस्या भएपछि डिएम कार्डियोलोजिस्ट डा. विकास नेपालको परामर्शमा थप परीक्षणका लागि भेरी अस्पताल भर्ना गरिएको थियो। उनी पहिलेबाटै हाइपोथाइराइडिज्म, टाइप–२ मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन्। अस्पतालमा आवश्यक परीक्षण, औषधि उपचार तथा विशेषज्ञ परामर्शपछि स्वास्थ्य अवस्थामा आंशिक सुधार देखिए पनि पछि समस्या दोहोरिँदै गयो।

इन्डोस्कोपी लगायतका परीक्षणबाट ग्यास्ट्रिकसम्बन्धी समस्या देखिएपछि औषधि उपचार सुरु गरिएको थियो। मुटुसम्बन्धी जाँचहरूमा समस्या नदेखिएपछि चिकित्सकहरूले थप उपचारका लागि ग्यास्ट्रो विशेषज्ञ भएको अस्पतालमा रिफर गर्न सुझाव दिएका थिए। तर बिरामी पक्षले अन्यत्र लैजान अस्वीकार गरेको अस्पताल स्रोतको भनाइ छ।

१३ वैशाख बिहान बिरामी शौचालयबाट फर्किने क्रममा अचानक ढलेपछि उनको अवस्था गम्भीर बनेको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।

उपचारमा संलग्न डा. विकास नेपालका अनुसार चिकित्सकहरूले बिरामीलाई बचाउन हरसम्भव प्रयास गरे पनि सफल हुन सकेनन्। ‘कुनै पनि चिकित्सकले बिरामी गुमोस् भन्ने सोच्न पनि सक्दैन,’ उनले भने, ‘यदि चित्त नबुझे कानुनी बाटो खुला छ, तर हिंसा र धम्की स्वीकार्य हुँदैन।’

पश्चिम नेपालको प्रमुख संघीय अस्पताल मानिने भेरी अस्पतालमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि आउने गर्छन्। हाल सेवा अवरुद्ध हुँदा क्षेत्रीय स्वास्थ्य सेवा प्रणालीमा गम्भीर असर परेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय