१७ वैशाख, काठमाडौं — नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम सामाजिक सञ्जालमा साझा गरिएको नक्सा त्रुटिका कारण विवादमा तानिएको छ। उक्त नक्सामा भारतको संवेदनशील क्षेत्र जम्मु–कश्मीरलाई पाकिस्तानतर्फ देखाइएपछि व्यापक आलोचना भएको हो।
विवाद बढेपछि निगमले आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागेको छ। कम्पनीले जारी गरेको वक्तव्यमा सो नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गर्दै, उक्त सामग्रीले नेपाल वा कम्पनीको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ।
निगमले त्रुटिपूर्ण पोस्ट तत्काल हटाइएको जानकारी दिँदै, यस्तो गल्ती पुनः नदोहरिने सुनिश्चित गर्न आन्तरिक समीक्षा सुरु गरिएको जनाएको छ। साथै, छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै, उक्त पोस्टबाट कसैलाई असहजता वा आपत्ति पुगेको भए त्यसप्रति दुःख व्यक्त गरेको छ।
उक्त नक्सा सार्वजनिक भएपछि भारतमा व्यापक प्रतिक्रिया आएको थियो। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले कडा आलोचना गर्दै नेपाल एयरलाइन्सविरुद्ध टिप्पणी गरेका थिए। केहीले यसलाई भारतविरोधी कदमको रूपमा समेत व्याख्या गरेका छन्।
यसैबीच भोजपुरी फिल्म उद्योगका चर्चित कलाकार खेसारी लाल यादव ले पनि तीव्र प्रतिक्रिया जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो संवेदनशील विषयमा गरिएको छेडछाड गम्भीर विषय भएको उल्लेख गर्दै प्रश्न उठाएका छन्।

