२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले उद्योगी–व्यवसायीहरूलाई कुनै पनि प्रकारको डर वा त्रासमा नपर्न स्पष्ट आग्रह गरेका छन् । आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको छलफलमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार, सुशासन र आर्थिक स्थायित्वलाई अघि बढाउने रहेको स्पष्ट पारे ।
उनले सरकार सुशासनको अभियानमा अघि बढिरहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीहरूलाई त्यस अभियानमा सहयोग गर्न आग्रह गरे । लामिछानेका अनुसार सरकार निजी क्षेत्रसँग सहकार्य गरेरै देशको अर्थतन्त्र सुदृढ बनाउन चाहन्छ, तर अर्थतन्त्रलाई कमजोर पार्ने वा अव्यवस्था सिर्जना गर्ने गतिविधिमा भने राज्यले कडा निगरानी राख्नेछ ।
उनले विगतमा राजनीतिक अस्थिरता र विभिन्न दबाबका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको प्रभावमा पर्न बाध्य भएको स्मरण गर्दै अब त्यस्तो अवस्था दोहोरिन नदिने आश्वासन दिए । “अब ढुक्क भएर काम गर्न सकिने वातावरण बन्छ, सरकार नीतिगत सुरक्षामा प्रतिबद्ध छ,” उनले भने ।
छलफलका क्रममा उनले भने, “तपाईंहरूको मनोबलमा केही डर वा अन्योल देखिएको भन्ने सुनेर म आफैं छलफल गर्न आएको हुँ । कुनै पनि किसिमको डर मान्नुपर्ने अवस्था छैन । सुशासनका केही कदमहरूका कारण प्रश्न उठ्न सक्छन्, तर ती सुधारका लागि हुन् । सरकारको उद्देश्य व्यवसायलाई हतोत्साही बनाउने होइन, बरु सहकार्य गर्दै अघि बढ्ने हो ।”
उनले थप भने कि केही परिस्थितिमा अर्थतन्त्रलाई असर पार्ने गतिविधिहरू राज्यले कडाइका साथ नियाल्नुपर्ने हुन्छ । विगतमा राजनीतिक अस्थिरताका कारण व्यवसायीहरू नेताहरूको ढोका ढक्ढक्याउन बाध्य भएको र कहिलेकाहीँ गलत सम्झौता गर्नुपरेको अवस्थालाई सरकार बुझेको पनि उनले उल्लेख गरे ।
रवि लामिछाने ले वर्तमान सरकार आफ्नो वाचापत्रअनुसार सञ्चालन भइरहेको दाबी गर्दै जनताले त्यही आधारमा विश्वास गरेर मतदान गरेको स्मरण गराए । उनले वाचापत्रभन्दा बाहिर नजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
उनले उद्योगी–व्यवसायीहरूलाई आफ्ना आन्तरिक कमजोरीहरूको मूल्याङ्कन गर्न, आन्तरिक लेखापरीक्षणलाई सुदृढ बनाउन र विगतका त्रुटिहरू सच्याउने प्रक्रियामा राज्यसँग सहकार्य गर्न आग्रह गरे ।
अन्त्यमा उनले नीति सुधार, सुशासन र आर्थिक सुधार नै वर्तमान सरकारको मुख्य प्राथमिकता भएको उल्लेख गर्दै कानुन कार्यान्वयनमा निजी क्षेत्रले सक्रिय सहयोग गर्नुपर्नेमा जोड दिए । साथै, अब विगतजस्तो समस्या लिएर नेताका घर–घर धाउनुपर्ने अवस्था नआउने उनको दाबी छ ।

