काठमाडौँ । चर्चित नेपाली लोक–रक ब्यान्ड नेपथ्य ले न्युजिल्यान्डमा साङ्गीतिक प्रस्तुति दिने तयारी गरेको छ । पृथ्वीको उत्तरी गोलार्ध अन्तर्गत क्यानाडा मा सफल प्रस्तुति सम्पन्न गरेर फर्किएको दुई सातासमेत नबित्दै ब्यान्ड दक्षिणी गोलार्धतर्फ प्रस्थान गर्न लागेको हो । टोली यसै सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यसपटक ब्यान्डले प्रस्तुति दिनका लागि न्युजिल्यान्डको उत्तरवर्ती टापुमा अवस्थित प्रमुख सहर अकल्यान्ड लाई रोजेको छ । त्यहाँको ‘ड्यु ड्रप इभेन्ट सेन्टर’मा मे १०, आइतबार साँझ नेपथ्यको लोकप्रिय लोक–रक संगीत गुञ्जिनेछ, जसले प्रवासी नेपाली दर्शकमाझ विशेष उत्साह थप्ने अपेक्षा गरिएको छ ।
यसअघि पनि नेपथ्य ले सन् २०१७ मा अकल्यान्डमै प्रस्तुति दिएको थियो । त्यतिबेला ब्यान्ड ‘स्काई सिटी थिएटर’मा मञ्चन भएको थियो, जसले न्युजिल्यान्डमा नेपाली कलाकारहरूको प्रस्तुति र आवतजावतका लागि नयाँ अवसरहरू खोल्न मद्दत गरेको बताइन्छ । उक्त जानकारी तत्कालीन आयोजक टोलीका राज महर्जन ले दिएका थिए । करिब नौ वर्षपछि ब्यान्डको यो दोस्रो न्युजिल्यान्ड भ्रमण हुन लागेको हो ।
स्थानीय आयोजक टोलीका रोजन भट्टराई का अनुसार अकल्यान्डमा हुने कार्यक्रमका लागि दर्शकहरूको उल्लेख्य चासो देखिन थालेको छ । ‘टिकट बुकिङ तीव्र गतिमा भइरहेको छ,’ उनले भने, ‘कार्यक्रमको मिति नजिकिँदै जाँदा शोप्रति आकर्षण अझ बढ्दै गएको छ र दर्शकहरूको सहभागिता उत्साहजनक रहने संकेत देखिएको छ ।’

