प्रि–मनसुन सुरु भएसँगै नेपालमा चट्याङका घटना तीव्र रूपमा बढ्ने गरेका छन् । वर्षको यही समयमा आकाशमा बिजुली चम्किनु, मेघ गर्जन हुनु र त्यससँगै चट्याङ पर्ने जोखिम उल्लेखनीय रूपमा उच्च हुन्छ । हरेक वर्ष चट्याङका कारण नेपालमा दर्जनौँ मानिसले ज्यान गुमाउने गरेका छन् भने सयौँ व्यक्ति घाइते हुने तथ्यांकले देखाउँछ ।

नेपालमा चट्याङ कहिले बढी पर्छ ?

नेपालमा चैतदेखि असारसम्मको अवधि, विशेषगरी प्रि–मनसुनको समयमा चट्याङ बढी पर्ने गर्दछ । यस समयमा आकाशमा विद्युतीय चार्जयुक्त बादलहरू सक्रिय हुन्छन्, जसले उथलपुथलयुक्त वातावरण सिर्जना गरी चट्याङ निम्त्याउँछ । वर्षायाममा पनि बादलमा चार्ज हुने भए पनि लगातार वर्षा हुने भएकाले विद्युतीय ऊर्जा पानीसँगै जमिनमा निस्किन्छ । त्यसैले प्रि–मनसुनको तुलनामा वर्षायाममा चट्याङको जोखिम तुलनात्मक रूपमा कम देखिन्छ ।

कुन क्षेत्रमा जोखिम बढी छ ?

नेपालको चुरे क्षेत्र चट्याङका दृष्टिले सबैभन्दा जोखिमयुक्त मानिन्छ । यहाँ मध्यमदेखि उच्च घनत्वमा चट्याङ पर्ने गर्दछ र मानवीय क्षति पनि बढी हुने गरेको छ । साथै, मध्य तथा पूर्वी पहाडी क्षेत्रहरूमा पनि चट्याङको जोखिम उल्लेखनीय छ । मकवानपुर जिल्लामा चट्याङको प्रभाव उच्च देखिएको छ भने झापा र मोरङ मा पनि बारम्बार चट्याङ पर्ने गरेको पाइन्छ । उच्च हिमाली क्षेत्रमा भने चट्याङको घटना न्यून हुन्छ ।

कच्ची घर किन बढी जोखिमपूर्ण ?

कच्ची वा कमजोर संरचनाका घरहरूमा बस्ने मानिसहरू बढी जोखिममा हुन्छन् । विशेषगरी जस्ताको छाना भएका घरमा चट्याङ पर्दा विद्युत् सजिलै प्रसारित भएर घरभित्र प्रवेश गर्छ । पक्की घरमा सामान्यतया ‘अर्थिङ सिस्टम’ मार्फत करेन्ट जमिनतर्फ पठाइन्छ, तर कच्ची घरमा यस्तो व्यवस्था नहुँदा करेन्ट सीधै मानिससम्म पुग्ने खतरा रहन्छ ।

चट्याङबाट बच्न अपनाउनुपर्ने सावधानी

– आकाशमा बिजुली चम्किनेबित्तिकै सतर्क हुनुपर्छ र सकेसम्म होचो स्थानमा थचक्क बसेर टाउको निहुराउनु उपयुक्त हुन्छ ।
– छाता खोल्नु वा मोबाइल प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ, किनकि धातुका वस्तुले करेन्ट तान्न सक्छन् ।
– घरभित्र हुँदा विद्युतीय उपकरणबाट टाढा रहनु आवश्यक हुन्छ ।
– चट्याङका बेला खेतबारी वा खुला स्थानमा बस्नुहुँदैन; सम्भव भएसम्म सुरक्षित आश्रय लिनुपर्छ ।
– झ्याल–ढोका बन्द राख्नुपर्छ र बार्दली वा कौसीमा बस्न हुँदैन ।
– धातुका पाइप, धारा, बेसिनजस्ता वस्तुबाट टाढा रहनुपर्छ ।
– रुखमुनि, अग्ला भवन नजिक वा खुला स्थानमा उभिनु जोखिमपूर्ण हुन्छ; समूहमा भन्दा अलग्गै बस्नु सुरक्षित मानिन्छ ।
– यात्रा गर्दा चट्याङ परे गाडीभित्र बस्नु सबैभन्दा सुरक्षित विकल्प हो; बाइकमा भए तुरुन्त सुरक्षित स्थान खोज्नुपर्छ ।
– बिजुलीका पोल, मेसिन वा पानी (नदी/ताल/डुंगा) बाट टाढा रहनु अत्यन्त जरुरी हुन्छ ।

चट्याङ लागेमा के गर्ने ?

– पीडितलाई सकेसम्म छिटो नजिकको अस्पताल पुर्‍याउन एम्बुलेन्स बोलाउनुपर्छ ।
– एम्बुलेन्स नआउँदासम्म प्राथमिक उपचार सुरु गर्नुपर्छ ।
– चट्याङ लागेका व्यक्तिलाई छुँदा करेन्ट लाग्ने डर गलत हो; उनीहरू सुरक्षित रूपमा छुन सकिन्छ ।
– पीडित बेहोस भए सास चलिरहेको छ कि छैन जाँच गर्नुपर्छ ।
– नाक–मुख नजिक हात वा कान राखेर सासको चाल पत्ता लगाउन सकिन्छ र मुटुको धड्कन पनि जाँच गर्नुपर्छ ।
– सास वा नाडी नदेखिए तुरुन्त सीपीआर सुरु गर्नुपर्छ—छातीको बीच भागमा एक मिनेटमा १००–१२० पटक दबाब दिनुपर्छ ।
– टाउको र खुट्टामा जलन, हड्डी भाँचिएको वा दृष्टि/श्रवण समस्या भए जाँच गर्नुपर्छ ।
– सामान्य चोटपटक भए रक्तस्राव रोक्न तुरुन्त मलमपट्टी गर्नुपर्छ ।

चट्याङ प्राकृतिक विपत्ति भए पनि समयमै सतर्कता अपनाए धेरै हदसम्म जोखिम घटाउन सकिन्छ । सचेतना, सावधानी र तत्काल प्राथमिक उपचारले ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय