काठमाडौँ । नइ एकेडेमी द्वारा आयोजना गरिएको विजय मल्ल शताब्दी महोत्सव आइतबार विशेष समारोहका साथ सम्पन्न भएको छ । वानीरा सङ्ग्रहालयमा आयोजित समापन कार्यक्रममा वरिष्ठ समालोचक वासुदेव त्रिपाठी ले दुई महत्वपूर्ण कृतिको लोकार्पण गरेका हुन् ।

लोकार्पण गरिएका कृतिहरूमा डा. साधना पन्त ‘प्रतीक्षा’ द्वारा लिखित समालोचनात्मक ग्रन्थ ‘नारीवादी नाटककार विजय मल्ल’ तथा नरेन्द्रराज प्रसाईँ द्वारा रचित जीवनी ‘विजय मल्ल’ रहेका छन् । यी दुवै कृति नइ एकेडेमीद्वारा प्रकाशित हुन् । कार्यक्रमका क्रममा प्रा. केशव सुवेदी ले उक्त कृतिहरूमाथि समीक्षात्मक धारणा प्रस्तुत गर्दै तिनको साहित्यिक महत्त्व उजागर गरेका थिए ।

सो अवसरमा ग्रन्थकारहरू डा. साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईँले विजय मल्ल को साहित्यिक योगदान, उनका कृतिहरूको विशेषता तथा नेपाली साहित्यमा उनको स्थानबारे विस्तृत प्रकाश पारे ।

नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाई को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठीले विजय मल्लको व्यक्तित्व र कृतित्वबारे गहन प्रवचन दिएका थिए, जसले उपस्थित दर्शकलाई मल्लको बहुआयामिक साहित्यिक योगदानप्रति थप जानकारी गराएको थियो ।

महोत्सव अवधिभर विजय मल्लका सिर्जनात्मक कृतिहरूको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्यकर्मी र चलचित्रकर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ तथा पदक प्रदान गरिएको थियो । साथै, महोत्सवका क्रममा मल्लको व्यक्तित्व र कृतित्वमाथि केन्द्रित विभिन्न विचार–विमर्श, गोष्ठी तथा साहित्यिक कार्यक्रमहरू पनि आयोजना गरिएका थिए ।

नेपाली साहित्यका प्रतिष्ठित नाटककार, आख्यानकार तथा कवि विजय मल्ल को जन्म वि.सं. १९८२ मा भएको थियो भने उनको निधन वि.सं. २०५६ मा भएको थियो । उनको साहित्यिक योगदान आज पनि नेपाली साहित्यका लागि प्रेरणाको स्रोतका रूपमा रहँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय