२२ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भागमा तीव्र हावाहुरीको जोखिम रहेको चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार दिउँसो लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा र राति मधेश प्रदेशका क्षेत्रमा हावाहुरी चल्ने सम्भावना उच्च रहेको छ ।
जारी सूचनाअनुसार दिउँसो लुम्बिनी प्रदेश अन्तर्गत पर्ने बाँके, दाङ, रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाहरूमा तीव्र हावाहुरी चल्न सक्ने सम्भावना औंल्याइएको छ ।
त्यसैगरी रातिको समयमा मधेश प्रदेश का बारा, पर्सा, रौतहट सहित कपिलवस्तु र रुपन्देही आसपासका क्षेत्रमा पनि हावाहुरीको जोखिम रहने महाशाखाले जनाएको छ ।
मौसमविद्हरूले तीव्र हावाहुरीले जनजीवन, कृषि तथा भौतिक संरचनामा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । विशेषगरी कमजोर संरचना, खुला स्थानमा रहेका सामग्री तथा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन सुझाइएको छ ।
महाशाखाले सम्भावित जोखिमबाट बच्न पूर्वतयारी गर्न, अनावश्यक रूपमा बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न अनुरोध गर्दै सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

