“आफ्नो वरिपरि
भीर, पाखा र कान्लाभरि
थुम्का–थुम्का चिया र
झुम्का–झुम्का अलैँची फस्टाएको
हरियालीले सिंगारिएको इलाम देख्दा
नेपालभरि अलिअलि इलाम छर्न मन लाग्छ” —
भूपि शेरचन का यी कालजयी हरफहरूले चित्रण गरेझैँ, इलामको प्राकृतिक सुगन्ध, सांस्कृतिक सौन्दर्य र साहित्यिक आत्मालाई विश्वमञ्चमा फैलाउने उद्देश्यसहित ‘इलाम साहित्य महोत्सव’ आयोजना हुन लागेको छ ।
आगामी शुक्रबार र शनिबार “पर्यटनका लागि साहित्य” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा महोत्सवको पाँचौँ संस्करण भव्य रूपमा सम्पन्न हुने तयारी गरिएको छ । नगर साहित्य कला संगीत प्रतिष्ठान द्वारा आयोजित यस महोत्सवमा देश–विदेशबाट साहित्यकार, वक्ता, सहजीकर्ता र श्रोताको उल्लेखनीय सहभागिता रहने अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिएका छन् ।
उनका अनुसार इलामको अनुपम प्राकृतिक सौन्दर्य, चिया बगान र सूर्योदयको विशिष्ट पहिचानलाई वाङ्मयका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्यसहित यसपटक महोत्सवलाई अझ व्यवस्थित र परिष्कृत बनाइएको छ ।
महोत्सवका प्रमुख आकर्षण
महोत्सवको पहिलो दिन प्रभातफेरीबाट सुरु भई औपचारिक उद्घाटन सत्रमा रूपान्तरण हुनेछ । उद्घाटन सत्रमा सगरमाथा आरोही जुनीता सुब्बाको कविता संग्रह विमोचन गरिनेछ भने विभिन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रम पनि तय गरिएको छ । यस वर्षको ‘हाङयुग–जुनीत पुरस्कार’ कवि सुन्दर कुरूपलाई प्रदान गरिनेछ ।
उद्घाटन सत्रको विशेष आकर्षणका रूपमा लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले ‘मुन्धुम र पर्यावरण सङ्कट’ विषयमा विचार प्रस्तुत गर्नेछन् ।
पहिलो दिन साहित्य, इतिहास, पर्यटन र समसामयिक विषयलाई समेट्दै विभिन्न अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिनेछन् । ‘कविता : विरासतदेखि रिल्ससम्म’ शीर्षकमा विनोदविक्रम केसी, रमेशचन्द्र अधिकारी, समदर्शी काइला र रिमा केसीबीच छलफल हुनेछ, जसको सहजीकरण बालिका थपलियाले गर्नेछिन् ।
‘पर्यटनको वैभव : समृद्धिको आधार’ विषयमा सुशिला सापकोटा, निरज कट्टेल र अमिर राईसँग गिरिराज बाँस्कोटाले संवाद गर्नेछन् । त्यस्तै, ‘जराको कुरा : हाम्रो इतिहास चर्चा’ मा मोहन मैनाली र युद्ध वैद्यसँग सुजित मैनालीले गहिरो बहस सञ्चालन गर्नेछन् ।
‘आख्यान र उपआख्यान’ सत्रमा केशव दाहाल, उमा सुवेदी, अमर न्यौपाने र श्याम सिंघकबीच विचार आदान–प्रदान हुनेछ, जसको सहजीकरण शैलेन्द्र अधिकारीले गर्नेछन् ।
साँझको कार्यक्रमलाई विशेष बनाउँदै ‘गजल साँझ’ आयोजना गरिनेछ, जहाँ योगनीधि भट्टराई, जिआर न्यौपाने, पवित्रा प्रयत्न, भुइँ मान्छे, लोकेन खतिवडा, सागर बगर, सिन्धु निरौला र महेन्द्र विरहीले आफ्ना गजल प्रस्तुत गर्नेछन् । त्यसपछि चर्चित गायक पुष्पन प्रधानको सांगीतिक प्रस्तुतिले वातावरणलाई थप जीवन्त बनाउनेछ ।
दोस्रो दिन : समसामयिक बहस र विमर्श
महोत्सवको दोस्रो दिन डिजिटल मिडिया, शिक्षा र सीमावर्ती साहित्यजस्ता समसामयिक विषयहरूमा केन्द्रित हुनेछ । यस क्रममा वसन्त बस्नेतले ‘डिजिटल मासुभात र हामी पत्रकार’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्नेछन् ।
‘शिक्षा विधेयकको सकस’ विषयमा डा. योगेन्द्रमान श्रेष्ठ, पूर्ण गौतम र टंक गौतमबीच छलफल हुनेछ भने ‘सीमावर्ती साहित्य’ विषयमा विनिता क्षत्री, कृष्ण बराल र डा. ज्ञानेन्द्र याक्सोसँग डा. हेम भण्डारीले विमर्श गर्नेछन् ।
‘कथा : हिमालवारि, हिमालपारि’ शीर्षक सत्रमा सुधीर शर्मा र दीपक सापकोटालगायतको सहभागिता रहनेछ । इलामको समग्र विकाससँग सम्बन्धित सत्रमा निश्कल राईले ‘सुन्तला र हरित अर्थतन्त्र’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।
कविता कन्सर्ट र प्रदर्शनी
महोत्सवको समापन ‘कविता कन्सर्ट’ मार्फत गरिनेछ, जहाँ देशका विभिन्न भागबाट आएका करिब तीन दर्जन कविहरूले आफ्ना सिर्जना वाचन गर्नेछन् । विमल वैद्यदेखि मेघनाथ बन्धुसम्मका कविहरूको सहभागिताले कार्यक्रमलाई थप सशक्त बनाउनेछ ।
यसका साथै महोत्सव स्थलमा फोटो, चित्रकला तथा पुस्तक प्रदर्शनी पनि आयोजना गरिनेछ, जसले इलामको सांस्कृतिक, कलात्मक र बौद्धिक पहिचानलाई झल्काउनेछ ।
सहकार्य र उद्देश्य
यस महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठान, रेड पाण्डा नेटवर्क र बुद्ध एयर लगायतका संस्थाहरूको सहकार्य रहेको छ भने हाङयुग जुनीता फाउन्डेसन र इलाम साहित्य समाज सह–आयोजकका रूपमा रहेका छन् ।
आयोजकका अनुसार, इलाम साहित्य महोत्सवले नेपालको साहित्य र पर्यटनलाई एकआपसमा जोड्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ ।

