काठमाडौं । राजधानीमा पेस्तोल देखाएर लुटपाटको प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । घटना वैशाख १७ गते इन्द्रचोक स्थित नैना एन्ड इसन ज्वेलर्स मा भएको थियो, जहाँ दुई जनाले सुन पसलमा प्रवेश गरी लुटपाटको प्रयास गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा विकेश राजवाहक र अरूण भुजेल रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिँदा प्रहरीले एउटा पेस्तोल समेत बरामद गरेको जनाएको छ ।

यसैबीच, उक्त घटनासँग सम्बन्धित आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति ललितपुर निवासी हरिकृष्ण महर्जन रहेका छन् ।

घटनाको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । भिडियोमा हेलमेट, नकाब र कालो लुगा लगाएका दुई जना व्यक्तिहरू पसलभित्र प्रवेश गरेको देखिन्छ । त्यतिबेला पसलमा एक्लै बसेकी महिला कर्मचारीमाथि उनीहरूले पेस्तोल तेर्साएर लुटपाट गर्ने प्रयास गरेका थिए ।

तर ती महिला कर्मचारीले साहसपूर्वक प्रतिरोध गरेपछि उनीहरूको योजना सफल हुन सकेन र उनीहरू त्यहाँबाट भाग्न बाध्य भएका थिए । प्रहरीका अनुसार उक्त दिन उनीहरूले कुनै सामान लुट्न भने सकेका थिएनन् ।

प्रहरीले उक्त घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान अघि बढाएको छ । नजिकैको अर्को पसलमा भएको चोरी घटनासँग पनि उनीहरूको संलग्नता हुनसक्ने आशंकामा थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय