काठमाडौँ, वैशाख २७ गते । विश्वभर आज अन्तरराष्ट्रिय आर्गानिया दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । जैविक विविधता संरक्षण, दिगो पारिस्थितिक प्रणालीको विकास तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा आर्गान वनस्पतिको महत्वपूर्ण योगदान रहेकाले यसको संरक्षणप्रति विश्व समुदायको ध्यान केन्द्रित हुँदै गएको छ ।

मुख्यतः उत्तर अफ्रिकी मुलुक मोरक्कोमा पाइने आर्गान रूख विश्वमै दुर्लभ तथा बहुउपयोगी वनस्पतिका रूपमा परिचित छ । यसबाट उत्पादन हुने आर्गान तेल स्वास्थ्य, सौन्दर्य र पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा यसको अन्तरराष्ट्रिय माग उल्लेखनीय रूपमा बढिरहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९९८ मा आर्गान उत्पादन हुने क्षेत्रलाई ‘आर्गानेराइ बायोस्फियर रिजर्भ’ घोषणा गर्दै विशेष संरक्षणको दायरामा ल्याएको थियो । त्यसपछि सन् २०१४ मा आर्गानसँग जोडिएको परम्परागत ज्ञान, सीप र सांस्कृतिक अभ्यासलाई मानवताको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिएको थियो ।

त्यसैगरी, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २०१८ मा मोरक्कोको ऐत सुआब–ऐत मनसुर क्षेत्रको आर्गान–आधारित कृषि तथा पशुपालन प्रणालीलाई विश्वकै महत्वपूर्ण कृषि सम्पदा प्रणालीको मान्यता दिएको थियो ।

आर्गान वनले वातावरण संरक्षणसँगै स्थानीय समुदायको आर्थिक जीवनमा पनि ठूलो योगदान पुर्‍याउँदै आएको छ । विशेषगरी ग्रामीण महिलाहरूलाई रोजगारी र आत्मनिर्भर बनाउने माध्यमका रूपमा आर्गान उद्योग विकसित हुँदै गएको छ ।

यही महत्वलाई आत्मसात गर्दै संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०२१ मा मे १० लाई अन्तरराष्ट्रिय आर्गानिया दिवसका रूपमा घोषणा गरेको थियो । मोरक्कोले प्रस्तुत गरेको उक्त प्रस्तावलाई ११३ सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तन, मरुभूमीकरण र जैविक विविधता संकटको चुनौती बढिरहेका बेला आर्गान वन संरक्षण विश्व वातावरणीय सन्तुलनका लागि अझ महत्वपूर्ण बन्दै गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय