तेहरान, वैशाख २६ गते । मध्यपूर्वमा चर्किएको युद्ध र कूटनीतिक तनावबीच इरानले सन् २०२६ को फिफा विश्वकपमा आफ्नो राष्ट्रिय फुटबल टोली अनिवार्य रूपमा सहभागी हुने स्पष्ट घोषणा गरेको छ । इरानी फुटबल महासङ्घले शनिबार आधिकारिक वक्तव्य जारी गर्दै कुनै पनि बाह्य दबाब वा राजनीतिक अवरोधले इरानलाई विश्वकपबाट रोक्न नसक्ने चेतावनी दिएको हो ।
इरानी फुटबल सङ्घको यो धारणा त्यतिबेला सार्वजनिक भएको हो, जब इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजलाई क्यानाडाले फिफा कङ्ग्रेसमा प्रवेश गर्न अस्वीकार गरेको विषय अन्तर्राष्ट्रिय बहसको केन्द्र बनेको छ । ताजमाथि इरानको शक्तिशाली सैन्य संरचना इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) सँग सम्बन्ध रहेको आरोप लाग्दै आएको छ ।
अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनाव तथा फेब्रुअरीदेखि मध्यपूर्वमा सुरु भएको युद्धका कारण इरानको विश्वकप सहभागिता अन्योलमा पर्ने अनुमान गरिएको थियो । तर इरानी फुटबल महासङ्घले आफ्नो अडान दोहोर्याउँदै विश्वकपमा सहभागी हुने निर्णय अन्तिम रहेको स्पष्ट पारेको छ । महासङ्घले विज्ञप्तिमा भनेको छ, “हामी विश्वकप खेल्न अवश्य जानेछौँ, तर आफ्नो विश्वास, संस्कृति र राष्ट्रिय पहिचानमा कुनै सम्झौता गर्नेछैनौँ ।”
इरानी फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजका अनुसार विश्वकपमा सहभागी हुन इरानले आयोजक राष्ट्रसमक्ष १० बुँदे सर्त राखेको छ । ती सर्तमा राष्ट्रिय टोलीका सम्पूर्ण सदस्यलाई सहज रूपमा भिसा उपलब्ध गराइनुपर्ने, इरानी राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान हुनुपर्ने, टोलीको सुरक्षा सुनिश्चित गरिनुपर्ने तथा विमानस्थलदेखि होटल र स्टेडियमसम्म विशेष सुरक्षा व्यवस्था हुनुपर्ने माग समावेश छन् ।
इरानले विशेषगरी आइआरजिसीमा सैन्य सेवा गरिसकेका राष्ट्रिय टोलीका चर्चित खेलाडी मेहदी तारेमी र एहसान हजफीलाई बिना कुनै अवरोध अमेरिका प्रवेश अनुमति दिनुपर्ने शर्त पनि अघि सारेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भने इरानी खेलाडीहरूलाई स्वागत गरिने बताउँदै आतंकवादी संगठनसँग सम्बन्धित व्यक्तिमाथि अमेरिका कडा रहने संकेत दिएका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने इरानका खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामै हुने स्पष्ट पारिसकेका छन् । प्रतियोगिताका क्रममा इरानी टोली एरिजोनाको टक्सनमा बस्नेछ । समूह ‘जी’ मा रहेको इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ ।
इरानले अन्तिम रूपमा दिएको सन्देश स्पष्ट छ — “कुनै पनि शक्ति वा राजनीतिक दबाबले योग्यताका आधारमा विश्वकपमा पुगेको इरानलाई रोक्न सक्दैन ।” युद्ध, प्रतिबन्ध र अन्तर्राष्ट्रिय विवादबीच पनि इरानले फुटबलमार्फत आफ्नो राष्ट्रिय उपस्थिति विश्वमञ्चमा कायम राख्ने संकेत दिएको छ ।

