२८ वैशाख, काठमाडौं । फिफा विश्वकप २०२६ सुरु हुन अब करिब एक महिना मात्र बाँकी छ । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव मानिने विश्वकप यसपटक आकार, संरचना र आयोजना शैलीका हिसाबले इतिहासकै फरक संस्करण बन्ने भएको छ । तर विश्व फुटबलको यस्तो महाकुम्भ नजिकिँदै गर्दा पनि अपेक्षाअनुसारको उत्साह र चर्चा भने अझै देखिएको छैन ।

पश्चिम एसियामा जारी तनाव, इरानले विश्वकप सहभागितामाथि उठाएको प्रश्न तथा अमेरिकामा फरक–फरक टाइमजोनमा खेल सञ्चालन हुने अवस्थाले यसपटकको विश्वकपको माहोल केही प्रभावित भएको विश्लेषण भइरहेको छ । यद्यपि, संरचनागत हिसाबले भने यो विश्वकप अहिलेसम्मकै सबैभन्दा भव्य हुनेछ ।

यसपटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना गर्दैछन् । फिफाको इतिहासमै पहिलो पटक तीन देशले एकैपटक प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । आयोजक राष्ट्र भएकै कारण अमेरिका, क्यानडा र मेक्सिको स्वतः विश्वकपका लागि छनोट भएका छन् ।

विश्वकपका खेलहरू अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ गरी कुल १६ शहरका रंगशालामा खेलाइनेछन् । उद्घाटन खेल मेक्सिको सिटीस्थित चर्चित अज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा आयोजना गरिनेछ ।

यसपटकको विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइएको छ । टोली संख्या बढेसँगै प्रतियोगिताको ढाँचा पनि परिवर्तन गरिएको छ । अब ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ, जहाँ प्रत्येक समूहमा ४ टोली रहनेछन् ।

समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट ८ टोली नकआउट चरणमा पुग्नेछन् । यसरी कुल ३२ टोलीले नकआउट खेल खेल्नेछन् । यसअघि नभएको ‘राउण्ड अफ ३२’ पनि यसपटक थपिएको छ । त्यसपछि प्रि–क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल हुनेछ ।

महादेशगत रूपमा पनि टोली संख्या बढाइएको छ । युरोपबाट सर्वाधिक १६ टोली विश्वकपमा सहभागी हुनेछन् भने अफ्रिकाबाट १० टोलीले अवसर पाएका छन् । एसियाबाट ९ टोली विश्वकपमा पुग्दा उत्तर तथा मध्य अमेरिका र दक्षिण अमेरिकाबाट ६–६ टोलीले सहभागिता जनाउनेछन् । ओसियाना क्षेत्रबाट न्युजिल्यान्डले प्रत्यक्ष छनोटमार्फत स्थान सुरक्षित गरेको छ ।

युरोपबाट इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियम लगायतका शक्तिशाली टोली छनोट भएका छन् । एसियाबाट जापान, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, इरान र अस्ट्रेलियाजस्ता टोली सहभागी हुनेछन् । दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, उरुग्वे र कोलम्बिया जस्ता टोलीले विश्वकप खेल्ने निश्चित भइसकेको छ ।

यसपटक विश्वकपमा खेलको संख्या बढेर १०४ पुगेको छ । बढी खेल, बढी टोली र फराकिलो भौगोलिक क्षेत्रमा आयोजना हुने भएकाले यो विश्वकप फिफाको इतिहासमै सबैभन्दा चुनौतीपूर्ण र विशाल प्रतियोगिताका रूपमा हेरिएको छ ।

फुटबल समर्थकहरूका लागि भने अबको एक महिना प्रतीक्षाको समय बनेको छ । विश्व फुटबलका सुपरस्टार, नयाँ प्रतिभा र ऐतिहासिक प्रतिस्पर्धाले भरिने यो विश्वकपले फेरि एकपटक विश्वलाई फुटबलमय बनाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय