काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को विशेष प्रिमियर शो सम्पन्न भएको छ । ‘प्राइभेट स्क्रिनिङ’ नाम दिइएको उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्की सहित राजनीतिज्ञ, चलचित्रकर्मी र सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

फिल्म हेरेपछि पूर्वप्रधानमन्त्री कार्कीले चलचित्रको कथावस्तु र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरिन् । उनले विशेषगरी अभिनेत्री आँचल शर्मा को अभिनयप्रति सकारात्मक प्रतिक्रिया दिँदै उनको भविष्य उज्ज्वल रहेको बताइन् ।

कार्कीले भनिन्, “म सिनेमा कम हेर्छु, विशेषगरी पुराना फिल्महरू बढी हेर्छु। तर आज यो फिल्म हेर्ने अवसर पाएँ। यो आर्ट फिल्म जस्तो लाग्यो, जसले अहिलेको समाजलाई प्रस्तुत गरेको छ।”

उनका अनुसार फिल्मले मध्यमवर्गीय परिवारको कथा, पुस्ताबीचको द्वन्द्व र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा देखाएको छ । उनले थपिन्, “पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सोचको टकराव, आर्थिक असमानता र पारिवारिक सम्बन्धका जटिलता फिल्ममा राम्रोसँग प्रस्तुत गरिएको छ।”

फिल्मको कथावस्तुबारे टिप्पणी गर्दै उनले मध्यमवर्गीय परिवारमा देखिने आर्थिक असमानता, विदेश अध्ययन, वैवाहिक सम्बन्ध र सामाजिक अपेक्षाहरूलाई फिल्मले यथार्थ रूपमा चित्रण गरेको बताइन् ।

अभिनेत्री आँचल शर्माको अभिनयप्रति टिप्पणी गर्दै उनले भनिन्, “उहाँ फिल्ममा फरक अवतारमा देखिनुभएको छ। मेहनत गर्नुभयो भने उहाँ अझै १०–१५ वर्षसम्म नेपाली फिल्म उद्योगमा मजबुत रूपमा टिक्न सक्नुहुन्छ।”

कार्यक्रममा उपस्थित कांग्रेस नेता सुनिल थापा ले पनि फिल्मले सामाजिक सन्देश प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । त्यस्तै, रियालिटी शो निर्देशक अमनप्रताप अधिकारी ले ‘एक मुठ्ठी बादल’ हालसम्म बनेका नेपाली फिल्ममध्ये उत्कृष्टमध्ये एक रहेको टिप्पणी गर्दै दर्शकलाई अनिवार्य रूपमा हेर्न सुझाव दिए ।

साहारा शर्माको निर्देशनमा बनेको फिल्ममा आँचल शर्मासहित निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं, मनीष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ रहेका छन् । निर्माण टिममा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल रहेका छन् । फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन् भने नेपालमा यसको वितरण आरआर फिल्म्स ले गर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय