काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले तत्कालीन गृहमन्त्रीमाथि उठेका भ्रष्टाचारसम्बन्धी आरोपको छानबिन किन ढिलाइ गरिएको भन्दै सरकारसँग प्रश्न उठाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न गर्दै तत्कालीन गृहमन्त्रीमाथि लागेको गम्भीर आरोपको निष्पक्ष छानबिन गर्न किन हिच्किचाइएको हो भन्ने स्पष्ट जवाफ माग गरे ।

आङ्देम्बेले भने, “अरूलाई भ्रष्टाचारको आरोपमा कडा कारबाही र आरोप लगाउने तर आफ्नै तत्कालीन गृहमन्त्रीमाथि लागेको संगीन आरोपमा किन कुनै छानबिन अघि बढाइँदैन? यो कस्तो सुशासन हो?” भन्दै सरकारमाथि कटाक्ष गरे ।

उनले सरकारलाई प्रतिनिधिसभामार्फत प्रश्न गर्दै तत्कालीन गृहमन्त्रीमाथिका आरोपहरूबारे निष्पक्ष छानबिन प्रक्रिया किन रोकिएको हो भन्ने स्पष्ट गर्न आग्रह गरे ।

त्यसैगरी उनले लम्साल आयोग को प्रतिवेदन कार्यान्वयनमा भइरहेको ढिलाइप्रति पनि असन्तुष्टि व्यक्त गरे । आयोगले २०४७ देखि २०५९ सालसम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरेको भए पनि प्रतिवेदन कार्यान्वयनमा नआएको उनले बताए ।

आङ्देम्बेले भने, “सम्पत्ति छानबिन आयोग गठन भएकोमा सरकारलाई धन्यवाद दिन्छु, तर प्रतिवेदन कार्यान्वयनमा किन ढिलाइ भइरहेको छ? यस्ता प्रतिवेदनहरू दराजमा थन्क्याउने हो भने यसको कुनै अर्थ रहँदैन।”

उनले सरकारले सुशासनको नारा मात्र नभई व्यवहारमा पनि देखाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय