३० वैशाख, गुल्मी । गुल्मीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको इश्मा गाउँपालिका–६ साहुघर निवासी ४५ वर्षीय थमनबहादुर कुमालले कुटपिट गर्दा उनकी ४३ वर्षीया श्रीमती एमी भनिने सुमित्रा कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार बेलुका दुवै जनाले सँगै मादक पदार्थ सेवन गरेका थिए । त्यसपछि सामान्य विवाद चर्किँदै जाँदा थमनबहादुरले श्रीमतीमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएकी सुमित्रालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।
घटनापछि थप अनुसन्धानका लागि बुधबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मी बाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा पाँच सदस्यीय टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

