काठमाडौँ — च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दोस्रो खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ। प्रतियोगिता एकदिने हुनेछ र काठमाडौँको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा आयोजना गरिनेछ।
प्रतियोगितामा पुरुष र महिलातर्फ समान दुई–दुई गरी कुल चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ ७३ केजीमुनि र १०० केजीमुनि तौल समूहमा खेल हुनेछ भने महिलातर्फ ५७ केजीमुनि र ७८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
आयोजक च्याम्पियन्स जुडो एकेडेमीका निर्देशक सरोज महर्जनका अनुसार प्रत्येक स्पर्धामा प्रथम हुने खेलाडीले ५ हजार रुपैयाँ, दोस्रोले ३ हजार रुपैयाँ र तेस्रोले २ हजार रुपैयाँ नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।
प्रतियोगितामा विदेशी खेलाडीको सहभागिताका लागि समेत पहल भइरहेको आयोजकले जनाएको छ।

