काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार अधिकांश बैंकले वैशाखको तुलनामा जेठमा व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने केही बैंकले भने पुरानै दरलाई निरन्तरता दिएका छन् ।
नेपाल बैंकर्स संघका अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत अधिकतम ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठ महिनामा घटेर ४.३४ प्रतिशतमा पुगेको छ । बजारमा तरलता सहज बन्दै गएपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् । यद्यपि, केही बैंकले भने प्रतिस्पर्धात्मक रूपमा ब्याजदर स्थिर राखेका छन् भने एउटा बैंकले सामान्य वृद्धि समेत गरेको छ ।
एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ ३.७५ प्रतिशतबाट ३.५ प्रतिशतमा झारेको छ । नेपाल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा ल्याएको छ भने संस्थागततर्फ ३ प्रतिशतलाई यथावत राखेको छ ।
प्रभु बैंकले व्यक्तिगततर्फ ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदरलाई स्थिर राखेको छ । एभरेष्ट बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा ४.०५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ ।
सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१५५ प्रतिशतबाट घटाएर ४.१ प्रतिशत कायम गरेको छ भने संस्थागत निक्षेपमा ३ प्रतिशतबाट बढाएर ३.५ प्रतिशत पुर्याएको छ । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ४.७५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरलाई यथावत राखेको छ ।
सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम राखेको छ । प्राइम कमर्सियल बैंकले पनि वैशाखकै ब्याजदरलाई निरन्तरता दिँदै व्यक्तिगततर्फ ४.१५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ भने ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर यथावत राखेको छ ।
सिद्धार्थ बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत बनाएको छ । संस्थागततर्फको ब्याजदर ३.२५ प्रतिशतमा स्थिर राखिएको छ ।
एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशतबाट घटाएर ४.८ प्रतिशतमा झारेको छ भने संस्थागततर्फ ४ प्रतिशतलाई स्थिर राखेको छ । स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगततर्फ ४.१ प्रतिशतबाट घटाएर ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशतबाट २.४८ प्रतिशतमा झारेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरलाई यथावत राखेको छ । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।
नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर स्थिर राखेको छ । हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा ल्याएको छ भने संस्थागततर्फ ३.७५ प्रतिशतलाई यथावत राखेको छ ।
कृषि विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.१५ प्रतिशत र संस्थागततर्फ २.७८ प्रतिशत ब्याजदर कायम गरेको छ । माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ४.५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ ।
त्यसैगरी, कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४.१२ प्रतिशतबाट घटाएर ३.९६ प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ ३.५ प्रतिशतबाट घटाएर ३.०१ प्रतिशतमा झारेको छ ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि बचतकर्ताले प्राप्त गर्ने प्रतिफलमा असर पर्ने देखिएको छ । तर बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जानु र कर्जाको माग अपेक्षाअनुसार नबढेका कारण बैंकहरू ब्याजदर घटाउने रणनीतिमा देखिएका छन् ।

