काठमाडौं । नेपाली कांग्रेसले आज (बिहीबार) गण्डकी प्रदेशस्तरीय दुई दिने भेला पोखरामा आयोजना गर्दैछ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत आयोजना गरिएको यो भेला प्रदेश र स्थानीय तह केन्द्रित संगठन सुदृढीकरण तथा नीतिगत छलफलमा केन्द्रित रहने बताइएको छ ।
भेला आज बिहान ११ बजे पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा सुरु हुने कांग्रेसले जनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशअन्तर्गतका नेता, कार्यकर्ता तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहनेछ । पार्टीले यस भेलामार्फत प्रदेश तहमा संगठनको अवस्था, चुनौती र आगामी रणनीतिबारे विस्तृत छलफल गर्ने तयारी गरेको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको २३ वैशाखमा बसेको बैठकले देशभरका सातै प्रदेशमा यस्ता प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार विभिन्न प्रदेशमा क्रमशः कार्यक्रमहरू सम्पन्न भइरहेका छन् । यसअघि सुदूरपश्चिम प्रदेशस्तरीय भेला २६ र २७ वैशाखमा कैलालीको धनगढीमा र कर्णाली प्रदेशस्तरीय भेला २८ र २९ वैशाखमा सुर्खेतमा सम्पन्न भइसकेका छन् ।
गण्डकी प्रदेशको भेला सकिएपछि अन्य प्रदेशहरूमा पनि क्रमशः कार्यक्रम तय गरिएको छ । पार्टीका अनुसार बागमती प्रदेशस्तरीय भेला ४ र ५ जेठमा काभ्रेपलाञ्चोकको धुलिखेलमा हुनेछ भने मधेश प्रदेशको भेला ६ र ७ जेठमा महोत्तरीको बर्दिवासमा आयोजना गरिनेछ ।
त्यस्तै, कोशी प्रदेशस्तरीय भेला ८ र ९ जेठमा सुनसरीको लौकहीमा हुने तयारी गरिएको छ । लुम्बिनी प्रदेशको भेला भने १४ र १५ जेठमा रुपन्देहीको तिलोत्तमामा आयोजना हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
कांग्रेसले यी प्रदेशस्तरीय भेलाहरूलाई संगठन विस्तार, नीति कार्यान्वयन र स्थानीय तहसँगको समन्वय मजबुत बनाउने अवसरका रूपमा लिएको छ ।

