बाँके । नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नतिर्ने उपभोक्तामाथि कडाइ गर्दै पछिल्लो पाँच महिनामा ५ हजारभन्दा बढी सेवाग्राहीको लाइन काटेको छ । बक्यौता असुली अभियानलाई तीव्र बनाइएसँगै केन्द्रले ठूलो मात्रामा रकम संकलन गर्न सफल भएको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रका अनुसार लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकहरूको सूची तयार गरी चरणबद्ध रूपमा लाइन विच्छेद गर्ने अभियान सञ्चालन गरिएको हो । उनका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा करिब ५ हजार ५०० ग्राहकको विद्युत् लाइन काटिएको छ । यस क्रममा कुल बक्यौता करिब ६ करोड ३० लाख रुपैयाँ बराबर पुगेको छ ।

लाइन काटिएका उपभोक्तामध्ये करिब ४ हजार ५०० ग्राहकले पुनः महसुल भुक्तानी गरेपछि लाइन जडान गरिएको छ । पुनः जडानपछि करिब ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम असुल भएको वितरण केन्द्रले जनाएको छ । बाँकी बक्यौता असुलीको प्रक्रिया अझै जारी रहेको छ ।

केन्द्र प्रमुख मिश्रले विद्युत् महसुल ६० दिनभित्र तिर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै समयमै बिल नतिर्ने उपभोक्तामाथि अब स्वचालित रूपमा कारबाही हुने व्यवस्था कडाइका साथ लागू गरिएको बताए । उनका अनुसार यो अभियानले उपभोक्तामा समयमै बिल तिर्नुपर्ने सचेतना समेत बढाएको छ ।

नेपालगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण र सेवा सुधारलाई प्राथमिकतामा राख्दै अनुगमनसमेत कडा बनाएको छ । मिटर अनुगमन, हुकिङ नियन्त्रण तथा मिटर गडबडी गर्ने उपभोक्तामाथि पनि नियमित कारबाही भइरहेको केन्द्रले जनाएको छ । कार्यालयले सार्वजनिक बिदाका दिनसमेत स्थलगत अनुगमन गर्दै घरेलु, सिँचाइ तथा औद्योगिक ग्राहकको सेवा अवस्था निगरानी गरिरहेको छ ।

सेवा सुधार र चुहावट नियन्त्रण अभियानका कारण पछिल्ला महिनाहरूमा बाँके जिल्लामा विद्युत् आपूर्तिमा सुधार देखिएको केन्द्रको दाबी छ । नयाँ फिडर थपिएपछि ओभरलोडको समस्या घटेको र गर्मीयाममा समेत विद्युत् आपूर्ति अपेक्षाकृत रूपमा स्थिर भएको केन्द्र प्रमुख मिश्रले बताए ।

त्यस्तै, नेपालगञ्ज वितरण केन्द्रले नो–लाइट शाखामार्फत महत्वपूर्ण स्थानहरूमा नाङ्गो तार हटाएर केबुल विस्तारको कामलाई समेत तीव्रता दिएको छ । नियमित मर्मत र निगरानीका कारण विद्युत् चोरी नियन्त्रण, दुरुपयोग न्यूनीकरण तथा सेवा प्रवाहमा सुधार आएको केन्द्रको निष्कर्ष छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय