काठमाडौं । अभिनेता राजेश हमालको प्रस्तुति रहेको टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली’ सिजन २ आज (बुधबार) देखि प्रसारण हुने भएको छ । कार्यक्रम साप्ताहिक रूपमा हिमालय टेलिभिजनबाट साँझ ८ बजेर ३० मिनेटमा प्रसारण हुनेछ भने दर्शकहरूले यसलाई युट्युब च्यानल ‘यो नेपाली शिर उचाली’ मार्फत पनि हेर्न सक्नेछन् ।
कार्यक्रममा अभिनेता हमालले विदेशमा रहेर विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका नेपालीहरूको कथा प्रस्तुत गर्नेछन् । उनी स्वयं विभिन्न देशमा पुगेर ती नेपालीसँग प्रत्यक्ष भेटघाट र संवाद गर्नेछन् । सिजन २ मुख्य रूपमा अष्ट्रेलिया केन्द्रित रहनेछ, जहाँ बसोबास गर्ने नेपालीहरूले गरेको संघर्ष, सफलता र योगदानलाई समेटिने निर्माण पक्षले जनाएको छ ।
मुभ मिडिया प्रालिको उत्पादन रहेको यो कार्यक्रम अष्ट्रेलियामा एसजिटी प्रोडक्सनको सहकार्यमा छायाङ्कन गरिएको हो । कार्यकारी निर्माता विवेक रेग्मीका अनुसार यो सिजन पनि १३ भागको हुनेछ । उनका अनुसार कार्यक्रमले विदेशमा रहेका नेपालीहरूको अनुभव, ज्ञान र सीपलाई उजागर गर्दै त्यसलाई नेपालसँग जोड्ने उद्देश्य राखेको छ ।
रेग्मीले कार्यक्रमलाई विश्वभर रहेका नेपाली समुदायको प्रेरणादायी कथाहरू प्रस्तुत गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार ‘यो नेपाली शिर उचाली’ ले संसारभर छरिएका नेपालीहरूको उपलब्धि र योगदानलाई एकै प्लेटफर्ममा ल्याएर नयाँ बहस सुरु गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमको पहिलो सिजन गत वर्ष युरोप केन्द्रित थियो । निर्माता रेग्मीका अनुसार भविष्यमा कार्यक्रमलाई अन्य महादेशमा समेत विस्तार गर्दै विश्वभर रहेका नेपालीहरूको सफलता कथाहरू क्रमशः समेटिनेछ ।

