एप्पलले आफ्नो पछिल्लो अपडेट आईओएस २६.५ सार्वजनिक गरेसँगै एप्पल म्याप्समा महत्वपूर्ण परिवर्तनहरू ल्याएको छ । यस अपडेटसँगै प्रयोगकर्ताको नेभिगेसन र सर्च अनुभव अझ स्मार्ट र व्यक्तिगत बनाउने उद्देश्यका नयाँ फिचरहरू थपिएका छन् । साथै, पहिलो पटक एपमा विज्ञापन समर्थन (advertising infrastructure) को पूर्वाधार समेत तयार गरिएको छ, जसले भविष्यमा व्यवसायिक प्रयोगको सम्भावना खोलिदिएको छ ।

नयाँ अपडेटको सबैभन्दा प्रमुख फिचरमध्ये ‘सजेस्टेड प्लेसेस’ (Suggested Places) हो । अब एप्पल म्याप्सको सर्च बारमा ट्याप गर्नेबित्तिकै प्रयोगकर्ताले वरपरका वा उनीहरूको रुचिसँग सम्बन्धित दुई प्रमुख सिफारिस देख्नेछन् । यी सुझावहरू दुई मुख्य आधारमा तयार गरिन्छन्— प्रयोगकर्ताको हालको लोकेसन वरपर ट्रेन्डिङमा रहेका स्थानहरू र हालै गरिएको सर्च हिस्ट्री ।

उदाहरणका लागि, यदि कुनै प्रयोगकर्ता काठमाडौंमा छन् भने एपले नजिकका लोकप्रिय र व्यस्त स्थानहरू देखाउनेछ । तर यदि प्रयोगकर्ताले हालै न्यूयोर्कसँग सम्बन्धित सर्च गरेका छन् भने, प्रणालीले न्यूयोर्कका चर्चित स्थानहरू सुझावको रूपमा देखाउन सक्छ । यो सूची प्रत्येक पटक म्याप्स खोल्दा अपडेट हुँदै जाने भएकाले प्रयोगकर्तालाई ताजा र सान्दर्भिक जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

यसैसँगै, एप्पलले म्याप्समा विज्ञापन प्रणालीको प्राविधिक संरचना पनि थपेको छ । हाललाई अमेरिका र क्यानडाका केही प्रयोगकर्ताहरूले एप खोल्दा भविष्यमा विज्ञापन देखिन सक्ने जानकारी दिने पप-अप सूचना देखिरहेका छन् । यद्यपि, कम्पनीले यी विज्ञापनहरू तत्काल लागू नभई आगामी समर सिजनदेखि मात्र औपचारिक रूपमा सुरु गरिने स्पष्ट पारेको छ ।

गोपनीयता सम्बन्धी चिन्ता कम गर्न एप्पलले प्रयोगकर्ताको डाटा सुरक्षा प्राथमिकतामा राखिएको जनाएको छ । विज्ञापन प्रणाली प्रयोगकर्ताको एप्पल आईडीसँग प्रत्यक्ष रूपमा जोडिने छैन र केवल तत्कालको लोकेसन, सर्च गतिविधि तथा म्यापमा हेरेका स्थानहरूका आधारमा मात्र सामग्री देखाइनेछ ।

हाल सामाजिक सञ्जालमा एप्पल म्याप्समा विज्ञापन सुरु भइसकेको भन्ने चर्चा भए पनि कम्पनीका अनुसार यो केवल तयारी चरण हो, वास्तविक विज्ञापन सेवा भने आगामी महिनाहरूमा मात्र सुरु हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय