एजेन्सी – अमेरिकन मेजर सकर लिग (MLS) मा इन्टर मियामीले एफसी सिनसिनाटीमाथि रोमाञ्चक ५–३ को जित दर्ता गरेको छ । खेलमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्नुका साथै दुई असिस्ट पनि दिएका छन्, जसले टोलीको जितमा निर्णायक भूमिका खेलेको हो ।

विश्वकप नजिकिँदै गर्दा उच्च लयमा देखिएका मेस्सीले यस सिजन MLS मा १२ खेलमै ११ गोल पूरा गरिसकेका छन् । उनको निरन्तरको प्रभावशाली प्रदर्शनले इन्टर मियामीलाई शीर्ष स्थानको प्रतिस्पर्धामा मजबुत बनाएको छ । यो जितपछि मियामी २५ अंकसहित इस्टर्न कन्फ्रेन्सको दोस्रो स्थानमा उक्लिएको छ ।

खेलको २४औँ मिनेटमा मेस्सीले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए । विपक्षी डिफेन्सको कमजोर क्लियरन्सपछि आएको बललाई उनले सहज रूपमा गोलमा परिणत गरेका थिए । तर, पहिलो हाफको अन्त्यतिर सिनसिनाटीका केभिन डेनकेले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफ सुरु भएको केही समयमै पाभेल बुचाले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । तर मियामीले तुरुन्तै जवाफ फर्कायो । ५५औँ मिनेटमा रोड्रिगो डि पाउलको पासमा मेस्सीले शानदार फिनिस गर्दै खेल २–२ मा ल्याए ।

६४औँ मिनेटमा सिनसिनाटीका एभान्डरले लामो दूरीबाट शक्तिशाली सटमार्फत गोल गर्दै फेरि अग्रता दिलाए । तर इन्टर मियामीले हार मानेन । ७९औँ मिनेटमा मेस्सीको पासमा मातेओ सिल्भेट्टीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि जर्मन बर्टेरामेले अर्को गोल थप्दै मियामीलाई ४–३ को अग्रता दिलाए ।

८९औँ मिनेटमा मेस्सीको क्रस पोस्टमा लागेर रिबाउन्ड भई आत्मघाती गोलमा परिणत हुँदा इन्टर मियामीले ५–३ को जित सुनिश्चित गर्‍यो । अन्तिम मिनेटसम्म चलेको रोमाञ्चक खेलमा मेस्सीले पुनः एकपटक आफ्नो विश्वस्तरीय क्षमता प्रमाणित गरे ।

यो जितसँगै इन्टर मियामीले अंकतालिकामा आफ्नो दाबेदारी बलियो बनाएको छ । १२ खेलमा २७ अंकसहित न्यासभिल एससी शीर्ष स्थानमा छ भने एक खेल बढी खेलेको मियामी २५ अंकसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय