३१ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म आफ्नो विरोध कार्यक्रम जारी रहने चेतावनी दिएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाउँदै सभामुखले यस विषयमा गम्भीर भूमिका खेल्नुपर्ने बताएका हुन्।

सभामुख डोलप्रसाद अर्याललाई सम्बोधन गर्दै राईले संसद्को गरिमा जोगाउने जिम्मेवारी सभामुखकै काँधमा रहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखले पहल गर्नुपर्ने मागसमेत गरे।

‘फेरि पनि आग्रह गर्छु, तपाईं हाम्रो अभिभावक हो, संसद्को संरक्षक हो । यस विषयमा हजुर गम्भीर बन्नुपर्छ,’ राईले भने, ‘यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहनेछ ।’

प्रधानमन्त्री संसद्मा लगातार अनुपस्थित रहनु संसदीय व्यवस्थाप्रतिको उदासिनता भएको भन्दै उनले कडा टिप्पणी गरे। संसद्लाई बेवास्ता गर्नु लोकतान्त्रिक अभ्यास र जनप्रतिनिधिमूलक संस्थाप्रतिको असम्मान भएको उनको भनाइ थियो।

‘आज परिस्थिति यस्तो बनेको छ कि यो गुरुकुल र विश्वविद्यालयलाई बंक गर्न थाल्नुभएको छ,’ राईले भने, ‘सदनजस्तो गरिमामय संस्थालाई बेवास्ता गर्नु दुखद मात्रै होइन, संसदीय व्यवस्थाप्रतिको उदासिनता पनि होइन र ?’

उनले सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई सामान्य बनाउने प्रयास गरिरहेको आरोपसमेत लगाए। कांग्रेसले प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिताको माग गर्दै सदनमा निरन्तर दबाब दिने संकेत गरेको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय