काठमाडौं । विश्वभर अनिद्रा र कम निद्राको समस्या बढ्दै गएको बेला एक अनुसन्धानले अमेरिकाका करिब एक तिहाइ वयस्कले राति न्यूनतम सात घण्टाको निद्रा पनि लिन नसक्ने तथ्य सार्वजनिक गरेको छ। निद्रासम्बन्धी समस्या बढ्दै जाँदा मानिसहरू राम्रो निद्राका लागि औषधि र सप्लिमेन्टमा निर्भर हुन थालेका छन्। तर विशेषज्ञहरूले दैनिक रूपमा निद्रा लाग्ने चक्की वा सप्लिमेन्ट प्रयोग गर्नु दीर्घकालीन समाधान नभएको चेतावनी दिएका छन्।

The New York Times मा प्रकाशित एक रिपोर्टअनुसार अमेरिकी स्वास्थ्य एजेन्सी Centers for Disease Control and Prevention (सीडीसी) ले सार्वजनिक गरेको नयाँ तथ्यांकमा हरेक आठमध्ये एक अमेरिकी वयस्कले सुत्न वा रातभर निद्रा टिकाइराख्न औषधि वा सप्लिमेन्टको प्रयोग गर्ने गरेको उल्लेख गरिएको छ।

विशेषज्ञहरूका अनुसार अहिले धेरै मानिसहरूले मेलाटोनिन र म्याग्नेसियमजस्ता सप्लिमेन्टलाई निद्राको ‘जादुई उपाय’ ठानिरहेका छन्। तर निद्रा वैज्ञानिकहरूले यस्तो सोच गलत भएको बताउँदै वास्तविक कारण पहिचान गर्न आवश्यक रहेको बताएका छन्।

Duke University Medical Center का निद्रासम्बन्धी वैज्ञानिक डा. सुजय कन्सागराका अनुसार धेरै मानिसहरूले आफ्नो निद्रा बिग्रनुको वास्तविक कारण पत्ता लगाउने प्रयास नगरी सीधै सप्लिमेन्टको सहारा लिन्छन्। उनका अनुसार म्याग्नेसियमले निद्रा सुधार्ने प्रमाण सीमित भए पनि मांसपेशी तन्किने वा राति खुट्टा बाउँडिने समस्या भएका व्यक्तिलाई केही राहत मिल्न सक्छ।

विशेषज्ञहरूले तनाव, रातिसम्म मोबाइल वा स्क्रिन प्रयोग गर्ने बानी, अनियमित दिनचर्या, कामको दबाब तथा मानसिक तनावलाई खराब निद्राका प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्। उनीहरूका अनुसार लगातार औषधि वा सप्लिमेन्टमा निर्भर हुँदा कतिपय वास्तविक स्वास्थ्य समस्या लुक्न सक्ने जोखिम पनि हुन्छ।

डाक्टरहरूले राम्रो निद्राका लागि औषधिभन्दा पहिले दैनिक बानी सुधार्न सुझाव दिएका छन्। हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने, बिहान घाम ताप्ने, नियमित व्यायाम गर्ने, सुत्नुअघि मोबाइल वा अन्य स्क्रिनबाट टाढा रहने तथा सुत्ने कोठालाई अँध्यारो, शान्त र चिसो राख्ने बानीले निद्रा सुधार्न मद्दत गर्ने उनीहरूको भनाइ छ।

स्वास्थ्य विज्ञहरूका अनुसार पर्याप्त र गुणस्तरीय निद्रा मानसिक स्वास्थ्य, रोग प्रतिरोधात्मक क्षमता, स्मरणशक्ति र शरीरको समग्र स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ। लगातार कम निद्रा हुने व्यक्तिमा मुटुरोग, मोटोपन, तनाव तथा डिप्रेसनजस्ता समस्या बढ्ने जोखिम रहने चेतावनी पनि विशेषज्ञहरूले दिएका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय