काठमाडौं । हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ सिजन पाँचका कोच (निर्णायक) सार्वजनिक गरिएको छ । बिहीबार आयोजकले नयाँ सिजनका लागि चार जना कोचको औपचारिक घोषणा गरेको हो ।

यसपटकको संस्करणमा वरिष्ठ गायक सत्यराज आचार्य, लोकप्रिय गायिका मिलन नेवार, लोक तथा आधुनिक संगीतमा चर्चित अर्जुन सापकोटा र युवा गायक वाङ्देन शेर्पाले कोचको भूमिका निर्वाह गर्नेछन् । सत्यराज आचार्य र मिलन नेवार अघिल्लो सिजनबाट निरन्तरता पाएका हुन् भने अर्जुन सापकोटा र वाङ्देन शेर्पा पहिलोपटक शोमा कोचको रूपमा जोडिएका छन् ।

कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालका अनुसार शनिबारदेखि ‘ब्लाइन्ड अडिसन’ राउन्डको छायांकन सुरु हुनेछ । ब्लाइन्ड अडिसनमार्फत देशभरबाट आएका प्रतिभाशाली बालगायकमध्ये उत्कृष्ट ४८ जना प्रतियोगी छनोट गरिनेछ । त्यसपछि उनीहरूले विभिन्न चरण पार गर्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

निर्देशक पौड्यालले यस संस्करणमा केही नयाँ नियम र आकर्षण थपिएको जानकारी दिएका छन् । उनका अनुसार यसपटक ‘सुपर ब्लक’ नामक नयाँ नियम लागू गरिनेछ, जसले प्रतिस्पर्धालाई अझ रोमाञ्चक र चुनौतीपूर्ण बनाउने अपेक्षा गरिएको छ ।

‘द भ्वाइस अफ किड्स’ नेपालमा बालप्रतिभालाई राष्ट्रिय स्तरमा चिनाउने लोकप्रिय सांगीतिक मञ्चका रूपमा स्थापित भइसकेको छ । अघिल्ला सिजनहरूमा धेरै बालप्रतिभाले दर्शकमाझ लोकप्रियता कमाएका थिए । नयाँ सिजन पनि अझ आकर्षक र प्रतिस्पर्धात्मक हुने निर्माण टिमको दाबी छ ।

कार्यक्रम आगामी जेठको अन्तिम सातादेखि हिमालय टेलिभिजनमार्फत प्रसारण सुरु हुने जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय