४ जेठ, काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गर्दै अष्ट्रेलियन तेज बलर मिचेल स्टार्कको रेकर्ड तोडेका छन् । स्कटल्याण्डविरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा २ विकेट लिँदै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

योसँगै सन्दीपले केवल ७३ ओडीआई खेलमै १५० विकेट पूरा गर्दै सबैभन्दा छिटो १५० विकेट लिने बलर बनेका छन् । यसअघि यो कीर्तिमान अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए । सन्दीपको यो प्रदर्शनले उनी विश्व क्रिकेटमा तीव्र गतिमा विकेट लिने बलरको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

यसअघि पनि सन्दीपले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान आफ्नो नाममा राखिसकेका थिए । उनले केवल ४२ खेलमै १०० विकेट पूरा गरेका थिए, जुन उपलब्धि पनि विश्व क्रिकेटमा दुर्लभ मानिन्छ । निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीपले नेपालका लागि ओडीआई करियरमा हालसम्म ७३ खेलमा १५१ विकेट लिइसकेका छन् ।

ब्याटिङतर्फ पनि उनले योगदान दिँदै करिब ५०० रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा पनि उनी नेपालको प्रमुख बलरका रूपमा रहेका छन्, जहाँ उनले ७४ खेलमा १३६ विकेट लिएका छन् । २०१८ मा नेदरल्याण्ड्सविरुद्ध ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीप लामिछाने पछिल्ला वर्षहरूमा नेपालको क्रिकेट सफलताको प्रमुख आधारमध्ये एक बनेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय