बुटवल । भूमिहीन तथा सुकुम्बासीहरूको राष्ट्रिय भेला सोमबार बुटवलमा सुरु भएको छ । देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको यो सम्मेलनलाई सुकुम्बासी आन्दोलनको संगठनात्मक पुनर्संरचना र भावी रणनीति तय गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ ।
सुकुम्बासी संघर्ष समिति रुपन्देहीका सल्लाहकार विरेन्द्र विकका अनुसार यस भेलामा देशका करिब २२ जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको छ । बाँके, बर्दिया, कञ्चनपुर, दाङ, कैलाली, कपिलवस्तु, नवलपरासी, चितवन, झापा लगायतका जिल्लाबाट आएका प्रतिनिधिहरू बुटवलमा केन्द्रित भएका छन् । उनका अनुसार लामो समयदेखि भूमिहीनता र आवास अधिकारको माग गर्दै आएका समुदायलाई एकीकृत आवाजमा ल्याउने प्रयासस्वरूप यो राष्ट्रिय भेला आयोजना गरिएको हो ।
सम्मेलनको मुख्य उद्देश्य आगामी आन्दोलनका लागि स्पष्ट कार्यदिशा तय गर्नु, संगठनलाई राष्ट्रिय स्तरमा थप सुदृढ बनाउनु र भूमिहीन तथा सुकुम्बासी समुदायका मुद्दालाई नीति–निर्माण तहसम्म प्रभावकारी रूपमा पुर्याउनु रहेको बताइएको छ । सहभागी प्रतिनिधिहरूले भूमि अधिकार, सुरक्षित बसोबास, सरकारी सेवा पहुँच र पुनःस्थापनाका विषयलाई प्राथमिक एजेन्डा बनाउँदै छलफल गरिरहेका छन् ।
त्यसैगरी, यस सम्मेलनबाट राष्ट्रिय संघर्ष समितिको नयाँ नेतृत्व चयन गरिने तयारी पनि गरिएको छ । नेतृत्व चयनपछि आन्दोलनलाई अझ संगठित, विस्तारमुखी र दबाबमूलक बनाउने अपेक्षा गरिएको छ ।
सुकुम्बासी संघर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्र पौडेलका अनुसार देशभर छरिएका सुकुम्बासी समुदायलाई एउटै राष्ट्रिय संरचनामा ल्याउने र बुटवल सम्मेलनमार्फत नयाँ नेतृत्व स्थापित गर्दै आन्दोलनलाई थप सशक्त बनाउने लक्ष्य राखिएको छ । उनका अनुसार भूमिहीनताको समस्या केवल सामाजिक मुद्दा मात्र नभई राज्यको दीर्घकालीन नीति र न्यायसँग सम्बन्धित गम्भीर प्रश्न भएकाले यसलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन आवश्यक छ ।
यसरी बुटवलमा सुरु भएको यो राष्ट्रिय भेला सुकुम्बासी आन्दोलनको आगामी दिशा निर्धारण गर्ने महत्वपूर्ण चरणका रूपमा विकसित हुने अपेक्षा गरिएको छ ।

