काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल’ घोषणा गरेसँगै नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढाएको छ ।
डब्लुएचओका अनुसार हालसम्म कंगोमा इबोलाका करिब २४६ वटा शंकास्पद संक्रमणका घटना देखिएका छन् भने अप्रिलयता मात्रै करिब ८० जनाको मृत्यु भइसकेको छ। स्थिति गम्भीर बन्दै गएपछि विश्वव्यापी जोखिमलाई ध्यानमा राख्दै यो घोषणा गरिएको हो।
नेपालमा पनि यसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कसहित सबै स्वास्थ्य निकायलाई उच्च सतर्कतामा राखेको छ।
महाशाखाका निर्देशक डा. अनुज भट्टराईका अनुसार सम्भावित जोखिम र तयारीबारे सरोकारवाला निकायसँग तत्काल छलफल गर्ने तयारी भइरहेको छ। उनले भने, ‘हामीले विषयलाई गम्भीरतापूर्वक लिएका छौं र आवश्यक निगरानी तथा तयारीलाई थप कडा बनाइरहेका छौं।’
इबोला अत्यन्त संक्रामक र प्राणघातक भाइरल रोग हो। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) का अनुसार यस रोगको मृत्यु दर ८० देखि ९० प्रतिशतसम्म पुग्न सक्छ, जसले यसलाई विश्वका सबैभन्दा खतरनाक संक्रमणमध्ये एक बनाउँछ।
नेपालले स्थलमार्गबाट संक्रमण भित्रिने जोखिम तुलनात्मक रूपमा कम भए पनि मुख्य निगरानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रित गरेको छ। त्यहाँ २४ घण्टा स्वास्थ्यकर्मी परिचालन गरी रोग प्रभावित देशबाट आउने यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ।
‘रोग प्रभावित देशबाट आउने यात्रुको निगरानीका लागि हेल्थ डेस्कमा निरन्तर स्वास्थ्यकर्मी खटाइएको छ,’ डा. भट्टराईले भने, ‘सम्बन्धित निकायलाई निगरानी अझ कडा बनाउन निर्देशन दिइएको छ।’
जनस्वास्थ्य विज्ञहरूका अनुसार विश्वव्यापी यात्रा र आवतजावत बढेकाले नेपाल पनि इबोलाजस्ता संक्रमणप्रति संवेदनशील मुलुक हो। दैनिक हजारौं विदेशी आगमन र लाखौं नेपालीको वैदेशिक रोजगारीका कारण कुनै पनि देशमा फैलिएको रोग सजिलै भित्रिन सक्ने जोखिम रहन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार नेपालले विभिन्न भाइरस संक्रमणको अनुभव गरिसकेको छ। उनले भने, ‘एमपक्स, सार्स–कोभ–२ र स्वाइन फ्लुजस्ता महामारी देखिसकेकाले कुनै पनि नयाँ संक्रमणलाई हल्का रूपमा लिन मिल्दैन।’
यसैबीच, इबोला प्रभावित अफ्रिकी मुलुकमा नेपालका शान्ति सैनिकसमेत कार्यरत छन्। नेपाली सेनाका अनुसार हाल कंगोमा ९७० भन्दा बढी नेपाली शान्ति सैनिक खटिएका छन्, जसमा केही इटुरी प्रान्तको बुनिया क्षेत्रमा कार्यरत छन्, जहाँ संक्रमणको जोखिम उच्च मानिन्छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार जोखिमयुक्त क्षेत्रबाट फर्किएका सैनिकलाई क्वारेन्टिनमा राखिएको छ। उनले भने, ‘हालसम्म कुनै पनि नेपाली सैनिकमा इबोला संक्रमण देखिएको छैन र आवश्यक सबै सुरक्षा सतर्कता अपनाइएको छ।’
विज्ञहरूले इबोला जस्ता घातक रोगको जोखिम न्यूनीकरणका लागि प्रयोगशाला क्षमता विस्तार, स्वास्थ्यकर्मी तालिम र निगरानी प्रणाली अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्। उनीहरूका अनुसार नेपालमा तत्काल ठूलो प्रकोपको जोखिम कम भए पनि सतर्कता घटाउनु गम्भीर गल्ती हुन सक्छ।

