नेपालको कुल खाद्यान्न उत्पादनमा धान र मकैपछि गहुँ तेस्रो प्रमुख बाली हो । यसले देशको खाद्य सुरक्षामा मात्र नभई ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने मेरुदण्डका रूपमा काम गरिरहेको छ । हिउँदको सुक्खा मौसममा पनि सिँचाइ र उपयुक्त कृषि प्रविधिको प्रयोगमार्फत उत्पादन गर्न सकिने भएकाले गहुँलाई नेपालको प्रमुख हिउँदे बाली मानिन्छ । परम्परागत रूपमा नेपाली समाजमा गहुँको प्रयोग रोटी, ढिँडो र पुवा जस्ता परिकारमा सीमित थियो । तर बदलिँदो जीवनशैली, शहरीकरण र बजारीकरणसँगै गहुँ अब केवल घरेलु भान्सासम्म सीमित नरही औद्योगिक कच्चा पदार्थको रूपमा समेत महत्वपूर्ण बाली बनेको छ ।

आजको समयमा नेपाली उपभोक्ताको दैनिक जीवनमा प्रयोग हुने बिस्कुट, पाउरोटी, तयारी चाउचाउ, पास्ता र म्याक्रोनीजस्ता खाद्य वस्तुको प्रमुख आधार नै गहुँ हो । यसले गहुँको मागलाई केवल पेट भर्ने खाद्य सामग्रीको रूपमा होइन, एक व्यावसायिक र औद्योगिक कच्चा पदार्थको रूपमा समेत तीव्र रूपमा विस्तार गरिरहेको छ । नेपालमा वार्षिक करिब २१ लाख टन गहुँ उत्पादन भए पनि देश अझै पूर्ण रूपमा आत्मनिर्भर हुन सकेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पछिल्ला तथ्यांकहरूले उत्पादनमा केही वृद्धि देखाए पनि आयातको आवश्यकता कायम रहेको देखाउँछ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको अवधिमा मात्र नेपालले करिब २४ हजार टन गहुँ आयात गरेको छ । भन्सार विभागका अनुसार चैत मसान्तसम्म कुल २३ हजार ९ सय ६४ टन गहुँ र बिउ आयात भएको छ, जसका लागि करिब १ अर्ब ३ करोड ७३ लाख ७१ हजार रुपैयाँ विदेशिएको छ ।

विशेषगरी मैदा मिल, बिस्कुट उद्योग तथा पास्ता–म्याक्रोनी उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थका रूपमा ठूलो मात्रामा गहुँ प्रयोग गर्छन् । यी उद्योगहरूका लागि आवश्यक उच्च प्रोटिनयुक्त ‘ड्युरम गहुँ’ नेपालमा व्यावसायिक रूपमा उत्पादन नहुने भएकाले आयातमा निर्भरता कायम छ । यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आवमा गहुँ उत्पादन २.५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । मन्त्रालयका अनुसार यस वर्ष उत्पादन क्षेत्रफल, कुल उत्पादन र उत्पादकत्व सबैमा सामान्य वृद्धि हुने अपेक्षा गरिएको छ । गत आव २०८१/८२ मा ६ लाख ८३ हजार ९ सय ७७ हेक्टर क्षेत्रफलमा करिब २० लाख ५६ हजार टन गहुँ उत्पादन भएको थियो भने चालु आवमा ६ लाख ८५ हजार ६ सय ८७ हेक्टर क्षेत्रमा २१ लाख ७ हजार २ सय ६ टन उत्पादन हुने अनुमान गरिएको छ । यसैगरी उत्पादकत्व प्रतिहेक्टर ३.०१ बाट बढेर ३.०७ टन पुग्ने अनुमान मन्त्रालयले गरेको छ ।

पछिल्लो एक दशकको तथ्यांकले गहुँ खेतीको क्षेत्रफल क्रमशः घट्दै गएको देखाउँछ । कुल ३० लाख ९१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये गहुँको क्षेत्रफल घटेर एक समय ६ लाख ८१ हजार हेक्टरसम्म पुगेको थियो, यद्यपि पछिल्ला वर्षहरूमा केही सुधार देखिएको छ । आव २०७०/७१ मा ७ लाख ५४ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेकोमा २०८०/८१ सम्म आइपुग्दा यो घटेर ६ लाख ८१ हजार हेक्टरमा सीमित भएको थियो । करिब ७२ हजार हेक्टर जमिनमा गहुँ खेती घट्नु उत्पादन प्रणालीमा आएको परिवर्तनको संकेत हो । तर २०८१/८२ र चालु आवमा भने केही पुनः वृद्धि देखिएको छ ।

उत्पादनको दृष्टिले गहुँमा उतारचढाव निरन्तर देखिन्छ । आव २०७६/७७ मा हालसम्मकै उच्च २१ लाख ८५ हजार टन उत्पादन भएको थियो भने २०७२/७३ मा उत्पादन घटेर १७ लाख ३६ हजार टनमा झरेको थियो । पछिल्ला वर्षहरूमा उत्पादन पुनः २० लाख टन माथि पुगेको देखिन्छ । उत्पादकत्व भने उल्लेखनीय रूपमा सुधार भएको छ, जुन गहुँ क्षेत्रको सकारात्मक पक्ष हो । २०५२/५३ मा प्रतिहेक्टर १.४७ टन रहेको उत्पादकत्व बढेर हाल करिब ३ टनभन्दा माथि पुगेको छ, जसले कृषि प्रविधि र अनुसन्धानको प्रभाव देखाउँछ ।

नेपालका कृषि वैज्ञानिकहरूले विकास गरेका जिंक र आइरनयुक्त नयाँ गहुँ जातहरू उत्पादन वृद्धिमा आशाको स्रोत बनेका छन् । जिन्कोउ–१, जिन्कोउ–२, बोर्लक–२०२०, हिमगंगा, खुमल शक्ति र भेरीगंगा जस्ता जातहरू किसानमाझ लोकप्रिय बन्दै गएका छन् । यी जातहरू उत्पादनशील मात्र होइन, पोषणयुक्त पनि भएकाले खाद्य सुरक्षा र पोषण दुवैमा योगदान पुर्‍याउने देखिन्छ । तथापि, क्षेत्रफल घट्नु, रोगको प्रकोप, जलवायु परिवर्तन, समयमै मल–बिउको अभाव र सिँचाइको समस्या जस्ता चुनौतीहरू अझै गम्भीर रूपमा कायम छन् ।

कृषि विज्ञहरूको भनाइमा किसानहरू अहिले गहुँ खेतीलाई ‘घाटाको बाली’ का रूपमा लिन थालेका छन् । सिँचाइको अभाव, श्रम र लागतको तुलनामा कम प्रतिफल तथा बजारको आकर्षण अन्य नगदे बालीतर्फ बढेकाले गहुँको खेती घट्दै गएको हो । तर अर्कोतर्फ उपभोक्ताको जीवनशैली परिवर्तनसँगै पिज्जा, बर्गर, पाउरोटी, चाउचाउ र पास्ताजस्ता गहुँ आधारित खाद्य वस्तुको माग तीव्र रूपमा बढिरहेको छ ।

यसले एकातर्फ उत्पादन घट्दै जाने र अर्कोतर्फ माग बढ्दै जाने विरोधाभास सिर्जना गरेको छ । यही असन्तुलनका कारण नेपाल गहुँमा पूर्ण आत्मनिर्भर हुन नसकी अर्बौं रुपैयाँको आयात गर्न बाध्य भइरहेको छ । पछिल्ला वर्षहरूमा आयातमा ठूलो उतारचढाव देखिए पनि चालु आवमा पुनः वृद्धि सुरु भएको छ । यसले दीर्घकालीन रूपमा गहुँ उत्पादन प्रणालीलाई सुदृढ नगरेसम्म खाद्य सुरक्षा चुनौतीमा रहिरहने संकेत गर्दछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय