नेमार समावेश गर्दै ब्राजिलले घोषणा गर्यो फिफा विश्वकप २०२६ को अन्तिम टोली
५ जेठ, काठमाडौं । ब्राजिलले स्टार फरवार्ड नेमारलाई समावेश गर्दै फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेको छ ।
मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमबार साँझ रियो दि जेनेरियोमा आयोजित विशेष कार्यक्रममा प्रारम्भिक ५५ सदस्यीय सूचीबाट अन्तिम टोली घोषणा गरेका हुन् ।
नेमारको कमब्याकमा ठूलो चासो
३४ वर्षीय नेमार पछिल्लो लामो समयदेखि चोटका कारण मैदान बाहिर थिए। यद्यपि उनले आफ्नो बाल्यकालीन क्लब सान्तोसबाट पछिल्ला १८ महिनामा उत्कृष्ट प्रदर्शन गर्दै पुनः अन्तर्राष्ट्रिय फुटबलमा फर्कने बाटो बनाएका थिए ।
नेमारलाई विश्वकप टोलीमा समावेश गर्ने कि नगर्ने भन्ने विषयमा ब्राजिलमा लामो समयदेखि बहस चलिरहेको थियो। अन्ततः प्रशिक्षक एन्सेलोट्टीले उनलाई टोलीमा राख्ने निर्णय गरेपछि उनी आफ्नो चौथो विश्वकप खेल्ने तयारीमा छन् ।
फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि जुलाई १९ सम्म संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ ।
शक्तिशाली फरवार्ड लाइन
ब्राजिलको फरवार्ड लाइन यस पटक निकै बलियो देखिएको छ। नेमारसँगै भिनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक, इगोर थियागो, गाब्रीएल मार्टिनेली, लुइस हेनरिके, माथेउस कुन्हा र रायान जस्ता खेलाडी समावेश छन् ।
विशेषगरी युवा र अनुभवी खेलाडीहरूको मिश्रणले ब्राजिलको आक्रमण लाइनलाई थप खतरनाक बनाएको छ।
तर मिडफिल्डमा भने केवल पाँच खेलाडी मात्र राखिएको छ, जसले टोलीको सन्तुलनबारे केही प्रश्न पनि उठाएको छ।
चोटका कारण केही ठूला नाम बाहिर
ब्राजिललाई चोटका कारण केही ठूलो झट्का पनि लागेको छ। रियल मड्रिडका फरवार्ड रोड्रिगो, डिफेन्डर एडर मिलिटाओ र चेल्सीका इस्टाभियो पहिले नै चोटका कारण विश्वकपबाट बाहिर भइसकेका छन् ।
त्यस्तै, चेल्सीका जोआओ पेड्रो अन्तिम सूचीमा स्थान बनाउन असफल भएका छन् भने बर्नमाउथका रायान भने आश्चर्यजनक रूपमा टोलीमा परेका छन् ।
ब्राजिलको विश्वकप समूह
ब्राजिल समूह ‘सी’ मा रहेको छ र उसले समूह चरणमा हाइटी, मोरोक्को र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
ब्राजिलको अन्तिम २६ सदस्यीय टोली
गोलकिपर: एलिसन, एडरसन, वेभरटन
डिफेन्डर: एलेक्स सान्ड्रो, ब्रेमर, डानिलो लुइस, डुगलास सान्तोस, गाब्रीएल मागल्हाएस, रोजर इबानेज, लियो पेरेइरा, मार्किन्होस, वेस्ले
मिडफिल्डर: ब्रुनो गुइमारेज, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो, लुकास पाक्वेटा
फरवार्ड: एन्ड्रिक, गाब्रीएल मार्टिनेली, इगोर थियागो, लुइस हेनरिके, माथेउस कुन्हा, नेमार, राफिन्हा, रायान, भिनिसियस जुनियर

