विराटनगर — कोशी प्रदेश सरकार ले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । बजेट अधिवेशन बुधबारदेखि सुरु भएसँगै प्रदेश सरकारको प्राथमिकता, योजना र विकास दृष्टिकोण आजको प्रस्तुतिसँगै औपचारिक रूपमा सार्वजनिक हुन लागेको हो ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङ ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यससँगै कोशी प्रदेश सरकारको आगामी वर्षको विकास मार्गचित्र स्पष्ट हुने अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले यस वर्ष कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ । यी क्षेत्रहरूलाई आर्थिक वृद्धि र रोजगारी विस्तारको आधार मानिएको छ ।
सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमकै आधारमा आगामी असार १ गते आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट ल्याउने तयारी गरिएको छ । नीति तथा कार्यक्रम पारित भएपछि बजेट निर्माण प्रक्रिया थप स्पष्ट र दिशानिर्देशित हुने प्रदेश सरकारको विश्वास छ ।

