इलाममा नेपाली फिल्म **‘लालीबजार’**को प्रदर्शनसँगै दर्शक र कलाकारबीचको भावनात्मक भेटघाटले सिनेमा हल नै उत्सवजस्तो बनेको छ । फिल्मको निर्माण टोली र मुख्य कलाकारहरू स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ र निर्माता प्रदीप भट्टराईसहितको टोली राति अबेर इलाम पुगेपछि हलमा उपस्थित दर्शकको उत्साह चरममा पुगेको थियो ।

राति करिब ९:३० बजे फ्रेन्ड्स सिनेमामा पुगेको टोलीलाई देख्नेबित्तिकै दर्शकहरूले मोबाइल क्यामेराबाट लगातार भिडियो र फोटो खिच्न थाले । कलाकारहरू हलभित्र प्रवेश गर्दा वातावरण नै रोमाञ्चक बनेको थियो । सैयौं दर्शकको उपस्थिति र उत्साहित प्रतिक्रियाले हलभित्र उत्सवको माहोल सिर्जना गर्‍यो ।

निर्माण टिमले राति ११ बजेसम्म दर्शकसँगै बसेर फिल्म हेरेका मात्र होइन, उनीहरूसँग खुलेर संवाद पनि गरे । कलाकारहरूले दर्शकका प्रतिक्रिया सुने, अनुभव साटे र फिल्मप्रतिको प्रेमका लागि धन्यवाद दिए । दर्शक र कलाकारबीचको यस्तो प्रत्यक्ष अन्तरक्रियाले फिल्मप्रतिको भावनात्मक सम्बन्ध अझ बलियो बनेको देखियो ।

फिल्ममा स्वस्तिमा खड्कासहितको टोली आउँछ भन्ने खबर फैलिनासाथ हल हाउसफूल भएको थियो । राति ८ बजेको शो भरिएपछि दर्शकको माग अनुसार १०:४५ बजे अर्को शो समेत थप्नुपरेको थियो । यसले इलाममा नेपाली फिल्मप्रतिको बढ्दो क्रेज स्पष्ट देखाएको छ ।

निर्माण टिम अहिले देशव्यापी प्रचार अभियानमा (देश दौडाह) सक्रिय छ । विभिन्न कानुनी अवरोधपछि प्रदर्शनमा आएको ‘लालीबजार’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले विशेषगरी बादी समुदायको जीवन, संघर्ष र सामाजिक यथार्थलाई केन्द्रमा राखेको छ, जसले दर्शकलाई भावनात्मक रूपमा जोडेको छ ।

इलाममा यसअघि स्थायी सिनेमा हल थिएन, जसका कारण स्थानीयले फिल्म हेर्न झापासम्म जानुपर्ने बाध्यता थियो । हालै सञ्चालनमा आएको फ्रेन्ड्स सिनेमाले त्यही खालीपन पूरा गरेको छ र स्थानीय दर्शकलाई आफ्नै शहरमै फिल्म हेर्ने अवसर दिएको छ ।

‘लालीबजार’को यो विशेष शोले केवल फिल्म प्रदर्शन मात्र नभई कलाकार, दर्शक र स्थानीय समुदायबीचको सांस्कृतिक भेटघाटको रूपमा समेत महत्वपूर्ण क्षण बनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय