हुम्ला — हस्त भियालको ढुङ्गा लागेर भएको मृत्युले हुम्लाको अदानचुली गाउँपालिका–६ पाल्स गाउँमा शोक छाएको छ । १३ वर्षीय बालक भियालको टाउकोमा गम्भीर चोट लागेपछि उपचारका क्रममा ज्यान गएको हो ।
जेठ ५ गते साँझ घरबाट नजिकैको कालागाडस्थित पसलतर्फ जाँदै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर उनी गम्भीर घाइते भएका थिए । घटनापछि स्थानीयले तत्काल उद्धार गरी अदानचुली गाउँपालिकास्थित श्रीनगर स्वास्थ्य चौकीमा पुर्याए पनि चिकित्सकहरूले बचाउन सकेनन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शङ्कर खड्काका अनुसार घटनाबारे थप अनुसन्धानका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जङ्गबाहदुर सिंह नेतृत्वको टोली अदानचुलीतर्फ खटाइएको छ ।
घटनापछि शव पोस्टमार्टमका लागि अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत बाजुराको सामुदायिक अस्पताल कोल्टी पठाइएको प्रहरीले जनाएको छ ।
भौगोलिक रूपमा जोखिमयुक्त पहाडी क्षेत्र भएकाले यस्ता दुर्घटना दोहोरिन नदिन स्थानीयस्तरमा सुरक्षात्मक उपाय अपनाउनुपर्ने आवश्यकता देखिएको छ ।

