चितवन — बढ्दो बिरामी चाप र सेवा विस्तारको आवश्यकता बढ्दै गए पनि भरतपुर अस्पताल ले आफ्नै स्वामित्वमा रहेको जग्गा पूर्ण रूपमा उपयोग गर्न नपाउँदा पूर्वाधार विकास ठप्पजस्तै बनेको छ । अस्पतालले नयाँ भवन निर्माण, सेवा विस्तार र भावी मेडिकल प्रतिष्ठान विस्तारका योजना अघि बढाउन खोजे पनि जग्गा उपयोगमा देखिएको अवरोध प्रमुख समस्या बनेको हो ।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार अस्पतालसँग करिब ३० बिघा जग्गा भोगाधिकारमा भए पनि हाल मात्र ११ बिघा क्षेत्र अस्पताल प्रयोजनमा प्रयोग भइरहेको छ । बाँकी जग्गा विभिन्न शैक्षिक संस्था, स्वास्थ्य निकाय तथा अन्य संघ–संस्थाले प्रयोग गरिरहेका कारण अस्पतालको दीर्घकालीन विस्तार योजना प्रभावित भएको हो ।
उनका अनुसार कलेज अफ मेडिकल साइन्स ले करिब नौ बिघा जग्गा भाडामा प्रयोग गरिरहेको छ भने स्कुल अफ हेल्थ साइन्स ले छ बिघा क्षेत्र उपयोग गरिरहेको छ । त्यस्तै आँखा अस्पतालले करिब चार बिघा, रक्तसञ्चार केन्द्रले दुई कठ्ठा, नेपाल रेडक्रस सोसाइटी ले एक कठ्ठा तथा जिल्ला स्वास्थ्य कार्यालय र अन्य संस्थाले सानो क्षेत्र प्रयोग गरिरहेका छन् ।
डा. सापकोटाले पटक–पटक लिज ऐनअनुसार सम्झौता गर्न पत्राचार गरिए पनि सम्बन्धित संस्थाहरूले प्रक्रिया पूरा नगरेको गुनासो गरेका छन् । उनले भने, “उनीहरूले प्रयोग गरिरहेको जग्गा लिज ऐनअनुसार सम्झौता गरेर व्यवस्थापन गर्न हामीले बारम्बार अनुरोध गरेका छौँ, तर अझै कार्यान्वयन भएको छैन ।”
अस्पतालको इतिहासबारे उल्लेख गर्दै उनले यो संस्था तत्कालीन महेन्द्र आदर्श चिकित्सालयका रूपमा सानो संरचनाबाट सुरु भई अहिले संघीय अस्पतालका रूपमा विस्तार भएको बताए । करिब ६०० शय्याको यो अस्पतालमा दैनिक २ हजारदेखि ३ हजारसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
तर पूर्वाधार विस्तारका लागि आवश्यक जग्गा अभावका कारण स्टोर भवन, आवास गृह, प्रशासनिक भवन तथा भविष्यमा बन्ने मेडिकल प्रतिष्ठानका संरचना निर्माणमा कठिनाइ भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले दीर्घकालीन सेवा विस्तारका लागि बाँकी जग्गा व्यवस्थित रूपमा उपयोग गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएको छ ।

