इंग्ल्यान्डको प्रसिद्ध क्लब एस्टन भिल्ला ले ३० वर्षको उपाधि खडेरी अन्त्य गर्दै युरोपा लिग फुटबलको उपाधि जितेको छ । इस्तानबुलस्थित बेसिक्टास पार्कमा बुधबार राति भएको फाइनलमा जर्मन क्लब फ्राइबर्ग लाई ३–० ले पराजित गर्दै एस्टन भिल्लाले ऐतिहासिक सफलता हात पारेको हो ।

यो जितसँगै एस्टन भिल्लाले दोस्रो ठूलो युरोपियन क्लब उपाधि आफ्नो नाममा लेखाएको छ । क्लबले यसअघि सन् १९९६ मा फुटबल लिग कप जितेयता कुनै प्रमुख उपाधि जित्न सकेको थिएन । युरोपियन प्रतियोगितामा भने क्लबले ४४ वर्षपछि उपाधि जित्दै पुरानो गौरव पुनः प्राप्त गरेको छ ।

खेलको पहिलो हाफमै भिल्लाले खेल आफ्नो पक्षमा मोडेको थियो । ४१औँ मिनेटमा युरी टिलेमान्सले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एमिलियानो बुएन्डियाले उत्कृष्ट गोल गर्दै अग्रता २–० बनाएका थिए ।

दोस्रो हाफको ५८औँ मिनेटमा मोर्गन रोजर्सले थप गोल गरेपछि भिल्लाको जित लगभग सुनिश्चित भएको थियो । खेलभरि भिल्लाले आक्रामक र दबदबायुक्त प्रदर्शन गरेको थियो । अमाडु ओनानाको प्रहार पोस्टमा लागेको थियो भने बुएन्डियाले अर्को स्पष्ट अवसर पनि गुमाएका थिए ।

मुख्य प्रशिक्षक उनाई एमरी का लागि यो युरोपा लिगको पाँचौं उपाधि हो । सन् २०२२ नोभेम्बरमा क्लब सम्हालेपछि उनले एस्टन भिल्लाको खेलस्तर र नतिजामा उल्लेखनीय परिवर्तन ल्याएका छन् ।

यो जितसँगै एस्टन भिल्लाले लामो समयदेखि कायम रहेको उपाधि अभाव अन्त्य गर्दै युरोपेली फुटबलमा आफ्नो ऐतिहासिक पहिचान पुनः मजबुत बनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय